Logo

कर्पोरेट फोकस

प्रभुको नयाँ एयरबस हेलिकप्टरले पायो उडान अनुमति 



प्रभु हेलिकप्टर प्रालिले नयाँ एयरबस हेलिकाप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ।  एक वटा मात्र एयरबस हेलिकप्टर मार्फत सेवा प्रदान गर्दै आएको प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै  ल्याउने निर्णय गरेको थियो । यो योजना संगै प्रभूले ५ वटा एयरबस हेलिकप्टर थपेको हो । यो एयरबस हेलिकप्टरसँगै स्थापनाको पाँच वर्षमा प्रभुसँग हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको हो ।

प्रभुको नयाँ हेलिकप्टर चैत्र ११ गते काठमाडौं आइपुगेको भएपनि कोभिड–१९ का कारण ढिला भएर अब औपचारिक प्रकृया अगाडी बढेको हो । प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले कलसाइन ९ एन–एनएलई रहेको हेलिकप्टरको ६ वटा सिट क्षमता रहेको बताए । साथै धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलिकप्टर नेपाली भू–भागको लगि योग्य हेलिकप्टर रहेको राजलवटको भनाइ छ। हेलिकप्टर थप भए सँगै नयाँ गन्तव्यहरुमा समेत उडान गर्ने योजना रहेको बताइएको छ।  

प्रभु हेलिकप्टर छोटो समयमा राम्रो लोकप्रियता कमाएको हेलिकप्टर उडान सेवा प्रदायक कम्पनी हो । सन २०१५ मा अमेरिकाले बनाएको रबिन्सन आर ४४ पिस्टक इञ्जिन हेलिकप्टरको साथ उडान सुरु गरेको प्रभु हेलिकप्टरले ३ वर्षभित्रै चारवटा नयाँ रोबिन्सन आर ६६ टर्बाइन हेलिकप्टर थपेको थियो ।

हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकिय उडान गर्दै आएको सो हेलिकप्टरले  पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोकको सेवा दिँदै आएको छ। 

राजलवटले नयाँ हेलिकाप्टरले काठमाडौंमा आधारित रहेर १४ हजार फिट भन्दामाथि सगरमाथा आधार शिविर, लाङटाङ, गोसाइकुण्ड, दामोर कुण्ड, माथिल्लो मनाङ–मुस्ताङ र तिलिचो ताल लगायतका गन्तव्यमा उडान भर्ने बताए । 

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार  ३ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।