काठमाडौं । राष्ट्रियसभाका विषयगत चार समितिका सभापतिहरु सर्वसम्मत भएका छन् । सभापतिका लागि भदौ २३ गते बिहीबार निर्वाचन गर्ने तय भएको छ । यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको तालिका थियो । तालिका अनुसार चार सभापतिमा एक÷एक जनाको मात्रै उम्मेदवारी परेको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका महासचिव समेत रहेका बेदुराम भुसालले उम्मेदवारी दिएका छन् । राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ । यसअघि पनि उनी नै सभापति थिइन् ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्माको उम्मेदवारी परेको छ । यसअघि यो समितिको सभापतिमा रामनारायण बिँडारी थिए । उनी कार्यकाल सकिएर १९ फागुन २०७८ मा विदा भएपछि रिक्त रहेको सभापति पदमा माओवादी केन्द्रका शर्माले उम्मेदवारी दिएका हुन् ।
दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थको उम्मेदवारी परेको छ । राष्ट्रियसभाका विषयगत समितिका सभापति पद कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल बिदा भएका थिए । रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए ।





















प्रतिक्रिया