Logo

राजनीति

आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदै



काठमाडौं । आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदैछ । उनको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेर नेपाली कांग्रेसले स्मृति दिवस मनाउन लागेको हो ।

प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा गरेको नेतृत्वका कारण उनलाई सर्वोच्च कमाण्डर मान्ने गरिन्छ । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए । १९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो ।

सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । २०१५ सालमा पहिलो चुनावपछि बनेको सरकारमा मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल गृहमा कारावास जीवन बिताएका थिए ।

२०२५ सालमा वीपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । २०३३ सालमा वीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहे ।

प्रकाशित मिति : आश्विन २, २०७९ आईतबार  १० : १८ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।