नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीसीडी रेसियो खारेज गरी सीडी रेसियो लागू गर्ने निर्णय गर्नासाथ बैंकहरु ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकले मौद्रिक नीतिमार्फत ८५ प्रतिशतको सीसीडी रेसियोलाई खारेज गरेर सीडी रेसियो लागू गर्ने बित्तिकै बैंकको सीडी रेसियो ९१.१० प्रतिशत पुगेको छ ।
सीडी रेसियो ९० प्रतिशत भन्दामाथि पुगेपछि अहिले बैंकहरुसँग नयाँ ऋण लगानी गर्ने क्षमता शून्य अवस्थामा पुगेको छ । बैंकरहरुका अनुसार अहिले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम छैन ।
सीडी रेसियो लागू भएपछि निक्षेपको ९० प्रतिशत कर्जा लगानी गर्न पाउने व्यवस्था भएपनि अहिले धेरैजसो बैंकको सीडी रेसियो ९० प्रतिशत माथि पुगेकाले बैंकहरुले निक्षेप उठाउन ब्याजदर बढाबढको प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
निक्षेपको ब्याजदर बढाउने बित्तिकै कर्जाको ब्याजदर बढ्छ । यसले सेयरबजारसहित समग्र अर्थतन्त्रमा गम्भीर धक्का पर्ने अर्थशास्त्रीहरु बताउँछन् ।
राष्ट्र बैंकका कारण बजारमा लगानीयोग्य तरलता अभाव हुने संकेत देखिएको एक बैंकरले बताए । ति बैंकरका अनुसार अहिले नै वाणिज्य बैंकको सीडी रेसियो ९१.१० प्रतिशत पुगेको छ । यसले ब्याजदर उच्च गतिमा बढ्ने सम्भवना देखाउँछ ।
यसअघि नै बैंकहरुमा तरलता अभाव भएको भनेर हल्ला चलिरहेका बेला राष्ट्र बैंकको निर्णयले तरलताको स्थिति शून्य प्रायः बनाइदिएको कतिपय बैंकरहरुको गुनासो छ ।





















प्रतिक्रिया