Logo

टिप्पणी

प्रधानमन्त्रीबाट महामारीको अति सामान्यिकरण, भने  – ‘मरेका १० जना मात्रै हुन्, बेसार देखाइदिनू, कोरोना भाग्छ’



प्रधानमन्त्री केपी शर्मा ओली कोरोना महामारी प्रति सुरुदेखिनै गम्भीर नभएका कार्यकारी हुन् । देश भित्र यसको तयारी, तयारी गर्ने क्रममा भएको भ्रष्टाचारको बचाउ, संकटमा परेका नागरिकहरुको उद्धारमा उदासिनता, मान्छेहरु भोकले मर्न आटेर १० – १५ दिनसम्म पैदल हिडेर घर गएका घटनाहरुलाई गिज्याउने कुरा देखि रोकथामको तयारीमा शून्य अवस्था रहेको आदि यसका नमुना हुन सक्तछन् । 

सुरक्षा सन्दर्भ   

कोरानाका सन्दर्भमा कुनै ठाउँमा उनी त्यस्तो गम्भीर भए भने त्यो हो आफ्नो निवास बालुवाटारको सुरक्षा, जहाँ कोरानाले प्रवेश नगरोस भन्ने  धेरै बारहरु लगाइएको छ । त्यस मध्येको एउटा हो उनी गएको फागुन देखि यो भदौको आजसम्म कि उपचारका लागि अस्पताल कि  राजनीतिक दाउपेचका लागि राष्ट्रपतिभवन जाने बाहेक त्यो निवासको ढोकाबाट बाहिर निस्किएका छैनन् होला अपवाद बाहेक ।

  देशको सम्पूर्ण कामलाई आफ्नो निवास भित्र सारिएको छ गएको सातमहिनादेखि र त्यहाँभित्र प्रवेश गर्नेहरुलाई टलक्क टल्किने बुटिक लगाइदिएर मात्र त्यो परिसरमा आउन दिइन्छ जो सरकारी रकमबाट खरिद भएका हुन् । 
प्रधानमन्त्री आफै बढी जोखिममा रहेको हुँदा त्यस्तो सुरक्षा आवश्यक होला जसलाई स्वाभाविक पनि मानौं । तर के यही उमेरका, यस्तै जोखिममा रहेका अरु नागरिकलाई चाहिँ बेसारपानी खानू र हाँच्छिउ गरिदिनू कोरोना भाग्छ भन्ने अर्ति मात्रै दिइरहेका अवस्था चाहिँ केहो भन्ने प्रश्न उठछ नै ।  
   
बेखवरको अवस्था 

आफ्नो यस्तो सुरक्षा बाहेक देशमा कोरोनाले कस्तो गरिरहेको छ भन्ने या त उनी बेखवर छन् कि खवर पाएका छन् भने त्यसलाई अति समामान्यिकरण गरेर दिन विताइरहेका छन् जसले नागरिकको अपूरणीय क्षति हुन्छ वा गराउँछ । 

उनको त्यो बालुवाटार बसाइको  स्थिति कतिसम्म भएछ भने उनी आफनो त्यो सरकारी निवासको बरण्डामा बसेर खाना खाँदा कागले पनि छेउमै आएर माग्दो रहेछ र उनले दिएको खाना आफैसंग जोडिएर निर्भययता पूर्वक खाँदो रहेछ । 

कागसंग आफनो सम्वन्ध घनिष्ट भएको यो विवरण उनले विरलै वाहिर निस्किएको अवस्थाको एक दिनको संसद (असार ६ राष्ट्रियसभा)मा सुनाएका हुन् । तर प्रधानमन्त्री ओलीले काग र कोरोनाको सम्वन्ध तथा  आफ्नो निवासमा त्यसलाई दिनै पिच्छे आफैले बरण्डामा बसेर खाना खुवाइरहेको भन्ने सन्दर्भ किन जोड्न खोजे अर्थात जोडिएको बुझाउन खोजे भन्ने चाहिँ अहिलेसम्म बुझिएको छैन । यति हो बालुवाटारको बरण्डावास यतिलामो भएछ, अब पंक्षिले पनि नाता जोड्न थालेछन् ।  यसको अर्को अर्थ पनि छ भने उनैले वताउलान् । 
 
प्रधानमन्त्रीले यस्ता अनुभव सुनाइरहेका ती दिनभन्दा कोरोना झनै निर्दयी भएर फैलिरहेको छ नेपालमा । यस्तो गम्भीर अवस्थाबारे चर्चा गरिँदा नेतृत्वले बारम्बाार भन्ने गरेका र काममा देखाएका कुरालाई कसरी व्यक्त गर्ने र कहाँबाट सुरु गर्ने भन्ने समस्य हँुदो रहेछ । यस्ता नाकामहरु धेरै नै थुप्रिसकेका छन् पनि  । नेतृत्वको त्यस्तो नचाहिने ठाउँमा अनावश्यक अहम् र नगरी नहुने ठाउँमा चाहिँ निरन्तर कायम रहेको अकर्मण्यताले अपूरणीय क्षति भएका घटनाहरु बढी नै रहेका छन् । तर देशको नेतृत्व भने अतिनै हलुका भएर प्रकट हुने क्रम रोकिएको छैन बरु झन् बढिरहेको छ । 
 
संख्या घटाउने कुरा 

यो भदौमा रोग विस्तारको रेखा डरलाग्दो भएर आयो । यही महिनाको  एकहप्ता अघि (भदौ १३ मा) प्रधानमन्त्री लामो समयपछि सार्वजनिक रुपमा प्रकटभए एउटा टेलिभिजन मार्फत । त्यहाँ उनले  भने  –‘यहाँ कोरोनाले मात्रै मृत्यु भएको हो भन्न सक्ने अवस्था छैन, त्यस्तो १० जना मात्रै होलान, बाँकी त अरुनै रोगले मरेका हुन्   । जनतामा सचेतनामा कमी र अन्य केही कारणले गर्दा समुदाय स्तरसम्म कोरोना संक्रमण फैलिएको हो । यसमा सरकारको कुनै दोष छैन ।’ 

यता त्यसदिन मात्रै कोरोनाको संक्रमणबाट  २० जनाको ज्यान गयो । एकदिनमा ज्यान गएकोमा अहिलेसम्मको यो ठूलो सख्या थियो । यो समेत मृत्यु हुनेको सख्या २०० बाट माथि चढ्न थालेको थियो जो एक हप्ता लगत्तै ३०० को संख्यामा पुगेको छ । मृत्युको मात्र होइन यस दिन संक्रमितको सख्यापनि अहिलेसम्मको ठूलो, एकै दिनमा १२ सय १५ थियोे । यो १२ हजारको परीक्षणबाट प्रकट भएको विवरण हो अर्थात एकहजार वरावर एकजना । यस्तो संख्यालाई धेरैनै खतरा मानिन्छ  । यही दिन कूल संक्रमितको सख्या ४० हजारमा पुग्दैै थियो । अव त्यो सख्या पचास हजार नाघेको छ । 

यता सरकारका स्वास्थ्य सम्वन्धी प्रवक्ता यस्तो जानकारी  गराइरहेका  थिए भने विज्ञहरु सरकारको परीक्षण क्षमता २२ हजार भएपनि यस्तो गम्भीर अवस्थामा पनि त्यसको आधामात्र   अर्थात ११–  १२ हजार भन्दामाथि नगएको भनी गुनासो गरिरहेका थिए । यही दिन  उता देशका  कार्यकारी प्रमुख प्रधामनमन्त्रीले निजी सञ्चार माध्यमसँग कुराकानी गर्दै कोरानाले करिव १० जना जतिमात्र मरेका भनी वताएका हुन्  । 

प्रधानमन्त्री जस्तो पदाधिकारीले बोलेपछि राज्य नै त्यता ढल्किदो रहेछ । सही गलत जेहोस त्यसलाई मिल्ने खालको तथ्यांक प्रस्तुत गर्दो रहेछ । त्यसको उदाहरण पनि यही सन्दर्भमा प्रकट भयो ।

प्रधानमन्त्रीले यसो भनेका भोलिपल्ट स्वास्थ्यमन्त्रालयबाट नै एउटा जानकारी आयो मर्नेहरुमध्ये अर्थात यो २०० मध्ये १० जनामात्रै कोरोनाका कारण मरेका हुन् बाँकी अरुनै रोगले मरेका  हुन् । यो ठाउँमा प्रधानमन्त्रीले भनेका र स्वास्थ्यमन्त्रालयले दिएको जानकारी मिल्छ । सवाल केहो भने प्रधानमन्त्रीलाई स्वास्थ्यमन्त्रालयले त्यस्तो जानकारी दिएको हो कि प्रधानमन्त्रीले भनेपछि स्वास्थ्यमन्त्रालयले तथ्यांक घटाएको हो । 

यी मध्ये दुवै जे हुन् यो महामारीका कारण २–३ सय को मृत्युभएको अवस्थामा १० जनाको मात्र मृत्यु भएको भनिनु यथार्थ अवस्था लुकाउन खोजिएको नै भन्नुपर्छ । कोरोना भाइरस लागेकाहरुको मात्र मृत्युको सख्या वताउने गरिएकोछ दिनै पिच्छे । संख्या घटार्इंदा शासनलाई के हुन्छ ? प्रधानमन्त्रीको प्रस्ताव बेसार पानीको चमत्कार देखिए वा हाच्छिउँ गरेर कोरोना उडेको  भन्न पाइएला ।  तर आमनागरिकका बीचमा त यो खुटदैन नि । 

नागरिकलाई दोष 

अर्को, यो ठाउँमा कोरोनाको संक्रमण फैलनुमा सरकारको कुनै दोष छैन भन्ने यो दिनसम्म प्रधानमन्त्रीको यो भनाई सयौं पटक दोहोरिएकोमा पर्छ । यसले बुझाउन खोजको कुरा होला– कोराना भाइरस नागरिकले नै ल्याए र उनीहरु आफैले फैल्याएका हुन् । यसको अर्थ हुन्छ तिम्रो कारण यो महामारी आयो, यसको भुक्तानी पनि तिमी नै गर भन्ने हुन्छ । प्रधानमन्त्रीको मुखबाट यस्तो कुरा आउदा सरकारी निकाय निस्कृय हुने खतरा बन्छ । रोग भोग्ने भनेका जनता नै हुन् । जसले जे भनेपनि रोकथामको काम त सरकार कै होनि ।

फेरी आयो वेसार 

अर्को, फेरी बेसारपानी कै कुरा आयो । गएको चैत्र देखि उठेको हो प्रधानमन्त्रीको मुखबाट बेसारको कुरा । उनले कोराना सुरुभएपछि पहिलोपल्ट आफ्ना मुख्यमन्त्रीहरु संग भिडियोवार्ता गरे चैत्र २९ गतेका दिन । त्यसबेला पनि प्रधानमन्त्रीका ती भनाइहरु पनि कोरोनालाई सुरु देखिने हियाउँदै आएका भन्नेमा थिए । त्यसपछि देखि उनले भनेको बेसारपानी खाए  र हाँच्छिउ गरिदिए कोरोना भाग्ने भन्ने सुझाव व्यंग्यका विषय भैसकेका छन् ।

तर यता विज्ञहरुको सधैनै  सुझाव रहँदै आएको छ – प्रधानमन्त्रीले यस्तो नबोलिदिए हुन्थ्यो । तर माथि उल्लेख भएको कोरोनाकहरको त्यस्तो भयावह लागेको विवरण प्रकट भैरहेको त्यसै दिन त्यही कुराकानीमा पनि उनले भने दृढतापूर्वक र एउटा खोप नै पत्ता लाए जस्तो गरी बेसारका बारे फेरी (त्यही टिभि) भने –

‘अज्ञानता भएको ठाउँमा पनि खाने कुरामा नजर नलागोस् भनेर बेसार प्रयोग गर्ने चलन छ । बेसार हालेपछि नजर लाग्दैन । मान्छेको नजर त लाग्न सक्दैन भने त्यो किटाणु (कोरोना भाइरस) को के कुरा !’ 

प्रधानमन्त्रीका त्यस दिनका यी भनाइको अर्थ के लगाइयो भने कोरानाको ताण्डब बारेमा प्रधानमन्त्रीलाई तत्कालको  अवस्थाका बारे कुनै जानकारी छैन । यतिबेला यसको संक्रमणबाट २०० सय मान्छे मरिनै सकेका (एहप्ता पछि ३००), ४७ हजार हारहारीमा मान्छे संक्रमित भएका (एकहप्तापछि पचासहजार), सरकार लकडाउन र निषेध बाहेक खासै केही गरिनरहेको, सामान्य उपचार पनि नपाएर मान्छे झनझन मरिरहेका,  देशभरी नै आम नागरिक कथंकाल संक्रमित भैहाले  के गर्ने भनी उकुसमुकुसमा रहेका बारे प्रधानमन्त्रीलाई  कि खवर छैन कि चासो छैन भन्ने सन्देश हुनुपर्छ त्यस दिनको उनका भनाइ ।

देश भर मात्रै  १२० दिनको निरन्तर लकडाउनबाट मुक्त भएको निषेध आज्ञाको चक्रमा परेको समय थियो यो । त्यो लकडाउनमा सरकारले के ग¥यो त भन्ने प्रश्न उठेको र यसबारे पनि सरकार नागरिकलाई कि आँखा फुटेका भन्ने  कि मौन बस्ने गरिरहेकै  बेला  लगत्तैपछि फेरी ६० वटा भन्दा बढी  जिल्लामा निषेधाज्ञा लागिरहेको छ । यस्तो बेला पनि परीक्षणको कुल क्षमताको आधामात्र प्रयोग भएको छ भने यी सबै कुरा केका लागि त भन्ने प्रश्न उठिरहेका थिए । त्यस्तोमा प्रधानमन्त्री फेरी र फेरी पनि बेसारपानी कै कुरा गर्छन् भन्ने अवस्थालाई सामान्यीकरण गरेको यो भन्दा अर्को उदाहरण के हुन्छ ?

बेसारबारे साधारण 

सर्वसाधारणका लागि प्रधानमन्त्रीको यस्तो  कोरोना हटाउन बेसारको मात्रै  विकल्पको प्रस्तुती आम नागरिकका लागि भने सह्य भएन । प्रधनमन्त्रीले बोल्ना साथै विगतमा जस्तै सामाजिक सञ्जालमा प्रतिकृयाको ओइरो लाग्यो । यस्तो संकटको बेला यस्तो नेतृत्वबाट यस्तो खेलाची लाग्ने प्रकारको कुरा आफैमा सहनेकुरा थिएन । साधारणले आफ्नो सञ्जालमा बोले  –‘सन्त्रास र संकटको भूमरी फनफनी घुमेको छ । सारा नेपाली त्राही छन् । राज्यप्रति विश्वास दिनानु दिन पातलिँदो छ । तर, प्रधानमन्त्रीसँग उही अहं, दम्भ र उही खोक्रा तर्कहरु छन् । ‘बेसारले मान्छेका त आँखा लाग्दैनन् भने किटाणु त के ?’ अब योभन्दा तल नझर्नुहोला प्रम ज्यू । लाज पनि लजाएर थाकिसक्यो ।’ 

प्रधानमन्त्री र प्रतिरोधी क्षमता 

प्रधानमन्त्रीको सुरुदेखिनै कोरोनाकाबारे दावी वा भनाइ रह्यो नोपलमा कोरोनाले केही गर्दैन । पहिलो त यो लाग्दैन, लागेछ भने पनि हाीच्छउ गरे पुग्छ । खासगरी कोरोना भाइरस चर्चामा आएपछि र यो संसार भरी विस्तार हुन् थालेपछि प्रधानमन्त्री ओलीले जुनसुकै ठाउँमा सम्वोधन गर्दा, अन्तर्वार्ता दिंदा र जुनसुकै अवसरमा भेटवार्ता क्रममा पनि सबै भन्दाबढी दोहोरिएको विषय हो नेपालीको रोग प्रतिरोधात्मक क्षमता संसारका अरु मान्छेको भन्दा धेरै नै गुना बढी  छ भन्ने । 

 उनले नै भनेका हुन् नेपालीको भान्सामा जस्तोे  जीरा, धनियाँ, बेसार, अदुवा जस्ता घरेलु मरमसला अन्यत्र कतै प्रयोग हँुदैन ।  यो नै कोभिड विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन काफी छ । त्यसमाथि अरव तिरवाट आएको हावा हिमालमा ठोकिएर आएको अक्सिजनले नेपालीको छाति  यति बलियो पारेको छ जसमा कोरोनाका भाइरस प्रवेश नै  गर्न सक्तैनन् । 

प्रधानमन्त्रीको यो भनाइ दोहो¥याइदा खासगरी आजको सन्दर्भमा हाँसिकमजाकका लागि प्रस्तुत भएको जस्तो लाग्छ । तर   यो दावी उनले संसदमा नै विशेष समय लिएर बोलेका कुरा हुन् । यता परिणाम त्यसको उल्टो आइरहेका हुँदा त्यस्तो लागेका हुनुपर्छ । यो दावी खटेन अर्थात उनले त्यतिकै यस्तो कुरा बताएका रहेछन् भन्ने  विबरणहरुले नै देखायो । यसले उनले उनले प्रस्ताव गरेका अन्य औषधी पनि उडन्ते भएका बुझाउँछ । प्रतिरोधी क्षमताका सन्दर्भमा अवस्था कस्तो भने बरु पछिल्लो समय अरुको भन्दा नेपालीको  प्रतिरोधी क्षमता कमी आएको देखियो । 

विज्ञहरु अनुसार संकटको यस्तो बेलामा शासनले मान्छेको मनलाई ढाढस दिएर बलियो बनाइराख्ने अवसर नै दिएन । क्षमता बढाउने कुराहरुको जोहो हुन पाएन । मान्छे भोक भोकै बस्न समेत बाध्य भए । त्यसकारण पनि प्रतिरोध क्षमता कमजोर पार्ने  खालको कामले यस्तो प्रतिरोधी क्षमता घटाएको हुनुपर्छ । 

प्रधानमन्त्रीका कुरा र कामले मान्छेलाई आश्वस्त नै पार्न सकेन ।  पछिल्लो समय सार्वजनिक भएका विवरण अनुसार नेपालीको रोग प्रतिरोधात्मक क्षमतामा अन्यत्रको भन्दा कमी आएको देखियो जुन दुखद पक्ष हो । सरकार आफैले प्रस्तुत गरेको  विवरणमा यो कुरा प्रकट भैरहेकोछ ।  यो  तथ्य विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस बिफ्रिङका आँकडाले नै उजागर गर्दै आएको अवस्था  छ । 

यो विवरण अनुसार  विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करीब १० प्रतिशतले कम छ । नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेकोमा विश्वमा यो दर ६८.१ प्रतिशत छ । यो विवरण यी पंक्ति लेखिएका बेलाका हुन् ।  कोभिडबाट विश्वमै तेस्रो तथा एशिया अनि दक्षिणएशियामा पहिलो हताहती बेहोरेको छिमेकी भारतको संक्रमित निको हुने दर ६१.५३ प्रतिशत छ । यो तथ्यलाई स्वास्थ्यमन्त्रालयले नै  प्रकट गरेको हो । नेपालीको प्रतिरोधी क्षमता कम देखिनु दुखद कुरा हो । 

प्रतिरोधी क्षमता बढाउन सरकारले ध्यान दिएन भने पनि हुन्छ । यति सत्य हो यो ठाउँमा प्रधानमन्त्रीले भनेको नेपालीको प्रतिरोधी क्षमता अरुभन्दा बढी छ भन्ने त मिलेन नि । यसको अर्थ हो प्रधानमन्त्रीको दावीका कुनै वैज्ञानिक आधार थिएन । त्यो वेसारहोस् कि लसुन वा कोरानले मरेका हुँन कि होइनन् भन्ने । 

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार