काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको इन्द्रदेव हल पुगेर फिल्म ‘प्रेमगीत ३’ हेरेका छन् । आइतबार साँझ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीसहितको टोलीसँग प्रचण्डले फिल्म हेर्न पुगेका थिए ।
पूरै समय हलमै बसेर फिल्म हेरेका प्रचण्डले बाहिरिएपछि सञ्चारकर्मीसँग फिल्मको प्रशंसा गर्दै भने, ‘यसमा धेरै चीज एकैठाउँमा मिसाएर प्रस्तुत गरिएको छ र बडो मसालेदार जस्तो लाग्यो । यहाँ युद्ध पनि छ, राजनीति पनि छ । दरबारभित्रको षड्यन्त्र पनि छ । प्रेम पनि छ, हिंसा पनि छ, प्रतिहिंसा पनि । त्यसकारण यो फिल्ममा युनिक खालको प्रस्तुति देखियो ।’
फिल्म हेरिरहँदा आफूलाई बाल्यकालको याद आएको भन्दै उनले नेपालको पर्यटन विकासमा फिल्मले टेवा पुग्ने समेत बताए । ‘नेपालको प्राकृतिक सुन्दरतालाई बडो राम्रो ढंगले प्रस्तुत गरिएको छ । त्यस दृष्टिले यो हेर्न लायक बनेको छ । कलाकारहरुले आ–आफ्नो जिम्मेवारी र दृष्टिकोण राम्रोसँग प्रस्तुत गरेका छन् । मेसेजको दृष्टिकोणले म यति भन्न चाहन्छु कि मसालेदार फिल्म छ । यसले पक्कै पनि पर्यटन विकासमा मद्दत गर्छ ।’





















प्रतिक्रिया