काठमाडौं । सम्पर्कविहीन रहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नाबालिग किशोरी बलात्कारका आरोपित लामिछानेविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।
तीन दिनअघि (शुक्रबार) लामिछानेलाई फरारसूचीमा राख्दै नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । उक्त नोटिस जारी भएसँगै लामिछाने इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरारसूचीमा परेका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्छन् ।
गत भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो । घटनाको भोलिपल्टै लामिछाने केन्याविरुद्ध ट्वन्टी–२० श्रृंखला खेल्न नैरोबी प्रस्थान गरेका थिए । उक्त श्रृंखलापछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्टइन्डिज पुगेका थिए । जाहेरी दर्ता हुँदा लामिछाने वेस्टइन्डिजमै थिए । त्यहाँ रहँदा नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमा रहेका उनको त्यसपछि भने अत्तोपत्तो छैन ।
जाहेरी परेको भोलिपल्ट भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि उनलाई क्यानले पनि कप्तानसँगै टिमबाट निलम्बन गरेको हो । सन्दीपले सामाजिक संजालमार्फत आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।




















प्रतिक्रिया