काठमाडौं । जनता समाजवादी पार्टीले सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै नेकपा एमालेसँग चुनावी तालमेलका लागि छलफल गरिरहेको विषयलाई लिएर नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले आलोचनात्मक टिप्पणी गरेका छन् । गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति नजुट्दा सत्ता गठबन्धन टुक्रिने खतरा बढेको छ भने एमाले भने साना दलहरूलाई एकीकृत गर्न जुटेको छ ।
गठबन्धनको भागबन्डामा असन्तुष्टि जसपा एमालेसँग सहकार्य गर्ने तयारीमा जुट्दै गर्दा सोही पार्टीका पूर्व अध्यक्ष भट्टराईले भने यस्तो राजनीतिलाई नै फगत व्यापारमा झारेको आरोप लगाएका हुन् । उनले चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद रहेको समाजिक संजालमा उल्लेख गरेका छन ।
‘चुनाव नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ’, पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !’




















प्रतिक्रिया