सप्तरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा ५ हजार ९२९ मतदाता थपिएका छन् ।
आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएअनुसार २ हजार ५३९ महिला र ३ हजार ३९० मतदाता थपिएका हुन् ।
अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पूरा भएका ४ लाख १८ हजार ३७४ मतदाताले सप्तरीमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता सूचीमा नाम दर्ता भएका मतदातामध्ये २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य रहेको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका १८ स्थानीय तहमा चार लाख १२ हजार ४४५ मतदाता थिए । जसमा महिला १ लाख ९८ हजार ५३२, पुरुष २ लाख १३ हजार ८९२ र २१ अन्य थिए ।
निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी उमेश यादवका अनुसार सप्तरीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर १ मा ५८ हजार २२९ पुरुष, ५४ हजार ९५८ महिला र ८ अन्य गरी १ लाख १३ हजार १९५ मतदाता छन् ।
प्रदेशसभा १(१) मा ३० हजार २८४ पुरुष, ३० हजार ४८५ महिला र ८ अन्य गरी ६० हजार ७७७ मतदाता छन् । प्रदेश १(२) मा २७ हजार ९४५ पुरुष र २४ हजार ४७३ महिला गरी ५२ हजार ४१८ मतदाता छन् ।




















प्रतिक्रिया