शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेको मंसिर ४ गतेको प्रतिनिनिधीसभा र प्रदेश सभाको निर्वाचनमा यस पटक चितवन क्षेत्र नम्बर ३ मा निकै रोचक खेल बन्ने स्थिति देखा परेको थियो तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) चितवन छोडेर गोरखा तिर लागेपछि खेल नयाँ ढंगले अघि बढेको छ ।
चितवनमा प्रचण्डसँग प्रतिष्पर्धा गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तयारी गरेका थिए । प्रचण्डलाई चितवनबाट हराएर राष्ट्रिय राजनीतिमा जम्ने सुर कसेका लामिछाने प्रचण्डनै चितवन छोडेर हिँडेपछि अब के गर्छन् भन्ने चासो देखिएको छ ।
लामिछाने कहाँबाट चुनावी प्रतिष्पर्धा गर्ने छन् भन्ने आम चासो व्यापक रहेको छ तर उमेदवारी दर्ता गर्ने २४ घण्टा पनि समय बाँकी नभएको अवस्थामा समेत उनले अहिले सम्म आफ्नो उमेदवारी घोषणा गरेका छैनन् । रविको उमेदवारीको बिषय बहुप्रतिक्षीत बिषय बनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवन–३ वा काठमाडौं–३ मध्ये एउटा क्षेत्रमा चुनाव लड्ने भएका छन् । निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताका लागि दुई दिन मात्र बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेको निर्वाचन क्षेत्र छानिसकेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले चितवन ३ छोडेर गोरखा नगएको भए लामिछानेले चितवन ३ बाटै चुनावी प्रतिस्पर्धा गर्ने पक्कापक्की थियो । प्रचण्डसँगै प्रतिष्पर्धा गर्नका लागि चितवन ३ मा प्रतिष्पर्धा गर्न खोजेका उनले अब के गर्ने भन्ने बिषयमा आन्तरिक छलफल अघि बढाएका छन् ।
यसअघि सो पार्टीका नेता दिपक बोहोराले लामिछानेसँगको फोटो राखेर फेसबुक स्टाटस लेख्दै सभापतिले अन्य पदाधिकारीसँग भन्दा अर्को पार्टीको प्रमुखसँगै चुनाव लड्न सक्ने बताएका थिए । “सभापतिजस्तो मान्छे फुच्चे फुच्चेसँग चुनाव के लड्नु, शास्त्रमा पनि भनिएको छ । सेनापतिले सेनापतिसँगै युद्ध गर्ने छ, उसले पदिकमाथि प्रहार गर्ने छैन,” बोहोराले फेसबुकमा लेखेका थिए ।
उनले फेसबुकमार्फत नै शास्त्रले रविलाई चीतवन–३ नै जुराउला जस्तो छ भनेर उल्लेख गरेका थिए । असोज १२ गते लामिछानेले चितवनमा चुनाव केन्द्रित सभा पनि गरेका थिए । तर अन्तिममा प्रचण्डनै चितवन छोडेर गोरखा गएपछि भने लामिछानेले चितवनबाट प्रतिष्पर्धा नगर्न सक्ने पनि बताइएको छ ।
रविले सुरुमा काठमाडौं ३ बाट चुनावी प्रतिष्पर्धा गर्न खोजेका थिए पछि उनका दाजु हरिशरण लामिछानेले पनि सोही क्षेत्रबाट स्वतन्त्र उमेदवार बन्ने भएपछि लामिछाने व्याक भएका थिए । अहिले हरिशरणले कुनै पनि चुनावी कार्यक्रम अघि बढाएका छैनन् । भाइका लागि काठमाडौँ ३ छोड्न तयार रहेको घोषणा उनले गरिसकेका छन् ।
अब लामिछानेले काठमाडौं ३ बाटै चुनाव लड्ने सम्भावना बढेको पनि उनी निकट स्रोतले जानकारी दिएको छ । लामिछानेको मतदाता नामावली पनि काठमाडौं ३ मै रहेको छ । चितवन छोडेमा आफ्नो मतादाता नामावली भएकै क्षेत्रबाट प्रतिष्पर्धा गर्ने सोचमा उनी रहेको बताइएको छ ।




















प्रतिक्रिया