काठमाडौं । आसन्न चुनावका लागि मनोनयन दर्ता गराउन शीर्ष नेताहरु आ-आफ्नाे निर्वाचन क्षेत्रमा पुगेका छन् । मनाेनयनका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनकी पत्नी आरजु राणामार्फत वारेस पठाएका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफै मनाेनयन दर्ताका लागि गृह जिल्ला झापा पुगेका छन् । यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गारखातर्फ लागेका छन् ।
कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणा देउवाको मनोनयनपत्र दाखिला गराउन हिजै शनिबार डडेलधुरा गएकी हुन् । कांग्रेस डडेलधुराका उपसभापति डिल्ली जोशीले आज आइतबार दिउँसो २ बजे देउवाको मनोनयन हुने जानकारी दिए । ०४८ सालयता देउवा डडेलधुराबाट सांसद बन्दै आएका छन् ।
एमाले अध्यक्ष ओली आज मनोनयन दर्ता गराउन झापा गइसकेका छन् । ओलीको सचिवालयका अनुसार उनले आफैं उपस्थित भएर आज दिउँसो २ बजे उम्मेदवारी मनोनयन गराउने कार्यक्रम छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा २ बाट मनोनयनका लागि यसअघि त्यहाँबाट चुनाव जित्दै आएका बाबुराम भट्टराईलाई साथै लगेर गएका छन् ।
भट्टराईले सामाजिक संजाल ट्विटरमार्फत यसबारे जानकारी दिएका हुन् । ‘गोरखा–२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न संगै गोरखातिर लागियो’, उनले लेखेका छन्, ‘उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा !’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट गएर उम्मेदवारी मनोनय गराउँदै छन् भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मनोनयन दर्ता गराउन झापा पुगेका छन् ।




















प्रतिक्रिया