काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आज (आइतबार) प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता सम्पन्न भएको छ । आयोगले आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म भएको मनोनयनपत्र दर्ताका लागि समय दिएको थियो ।
यस अवधिमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २ हजार ४५२ जनाको उम्मेदवारी परेको छ भने प्रदेशसभा सदस्यका लागि ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभाअन्तर्गत देशभर २ हजार २२३ पुरुष र २२९ महिला गरी कूल २ हजार ४५२ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्ति अनुसार तोकिएको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य जारी रहेको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै छ ।
प्राप्त विवरणअनुसार प्रदेशसभातर्फ ३ हजार ३९ जना पुरुष, २८६ जना महिला र १ जना अन्य गरी जम्मा ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारहरूले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइतबार मनोनयनपत्र दर्ता गरेका थिए ।
उम्मेदवारी दर्ता उत्साहजनक तथा शान्तिपूर्ण भएको आयोगले जनाएको छ । दर्ता भएका उम्मेदवाहरूको सूची आइतबार नै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम छ ।




















प्रतिक्रिया