काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेजको माग गर्दै उजुरी परेको छ । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित गच्छादारमाथि सोमबार एक युवाले निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।
सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका भन्दै चुनाव लड्ने नैतिकता नभएको दाबी गरेका छन् ।
गच्छदारविरुद्ध उजुरी आएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले पुष्टि गरे । उनले उक्त उजुरी निर्वाचन क्षेत्रमा पठाउन निर्देशन दिएका छन् । आयोगले आइतबार उम्मेदवारी दर्ता गराएकाविरुद्ध सोमबार उजुरी आब्हान गरेको थियो ।
त्यहीअनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उजुरी परेको हो ।
२०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर थियो ।
त्यस प्रकरणमा एकजना मुख्य आरोपी गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए । गच्छदारलाई वि.सं.२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएको आरोप छ ।




















प्रतिक्रिया