Logo

राजनीति

स्याङजा–२ मा बाजी मार्न धनराज गुरुङलाई कति सहज ?



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङजा निर्वाचन क्षेत्र नं. २ बाट आसन्न प्रतिनिधिसभा सदस्य चुनाव लड्दै छन् । त्यसका लागि आइतबार उनले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराइसकेका छन् । वि.स. २०६४ मा पहिलो संविधानसभा सदस्य (समानुपातिक) बनेका उनी प्रत्यक्षतर्फको चुनाव भने पहिलो पटक लड्न लागेका हुन् ।

स्याङजा– २ मा उनका प्रतिद्वन्द्वी हुन् एमालेकी सचिव पद्मा अर्याल । उनी २०७४ को निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै स्याङजा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । पूर्व भूमि व्यवस्था मन्त्रीसमेत बनिसकेकी अर्याललाई यस पटक भने नेता गुरुङले सहजै पराजित गर्न सक्ने अंकगणिले देखाउँछ ।

२०७४ मा वाम गठबन्धन(एमाले–माओवादी) हुँदा पनि एक्लै लडेको कांग्रेसका उम्मेदवार श्रेष्ठ करिब साढे तीन हजार मतान्तरले मात्रै पराजित भएका थिए । कांग्रेसको मात्रै मत पाएका श्रेष्ठले ३१ हजार ४३६ मत पाएका थिए भने वाम गठबन्धनको मत पाएकी अर्याल ३५ हजार १४२ मतका साथ निर्वाचित भएकी थिइन् ।

तर यस पटकको राजनीतिक परिवेश एमालेका लागि निक्कै प्रतिकूल छ । पहिलोः वाम गठबन्धन छैन । दोस्रोः पार्टी विभाजित भएको छ भने फुटेर बनेको दल एकीकृत समाजवादी विपक्षी (सत्ता गठबन्धन)को साथमा छ । तस्रोः आफ्नै दलका नेताले ‘बागी’ उम्मेदवारी दिएका छन् भने पाँच वटा दल एक भएर आफैमाथि आइलाग्दै छन् ।

स्याङजा–२ मा २०७४ मा एमालेकी अर्याले पाएकी मतमध्ये झन्डै आधा मत यस पटक कांग्रेसका गुरुङले पाउने छन् । एमालेका तत्कालीन माधव नेपाल समूह अर्थात् अहिले नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाको मत पनि उनले नै पाउने छन् ।

कांग्रेस उम्मेदवार गुरुङको जित गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको मतलाई आधार मान्दा पनि छर्लंग छ । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिकाको वडा नं. १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, भीरकोट नगरपालिकाको वडा नं. ५, ६, ७, ८, ९ र कालीगण्डकी गाउँपालिका पर्छन् । स्याङजा–२ मा पर्ने कुल ४५ वडामध्ये २० वटामा मात्रै एमालेले जितेको छ भने २५ वटा वडामा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् ।

तसर्थ आफ्नो जित हुनेमा कांग्रेस उम्मेदवार गुरुङ विश्वस्त छन् । ‘राजनीतिमा रहेको भ्रष्टाचार, बेथितिको न्यूनीकरण गर्दै समृद्ध समाज निर्माण गर्ने मेरो एजेन्डा हो’, उनी भन्छन्, ‘मेरो जित शुनिश्चित छ ।’

गुरुङको राजीतिक यात्रा

नेता गुरुङले नेपाल विद्यार्थी संघबाट राजनीति सुरू गरेका हुन् । उनले २०३६ सालको आन्दोलनमा सहभागी भएर नेविसंघबाट राजनीति सुरू गरेका हुन् । नेता गुरुङ नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति, तरुण दलको महासचिव, संविधानसभा सदस्य, कांग्रेस स्याङजा जिल्ला कार्यसमिति सदस्य हुँदै नेपाली कांग्रेसको उपसभापतिसम्म आइपुगेका हुन ।

२०३६ सालमा विद्यार्थी आन्दोलनमा पहिलो पटक सहभागी भएका उनी २०३८ सालमा नेविसंघ स्कुल इकाइ सभापति (धवथुम मावि स्याङजा) बने । उनी २०४० सालमा नेविसंघ स्याङजा जिल्ला सचिव बनेका थिए भने २०४३ मा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु उपसभापित उमेदवार र २०४४ सोही क्याम्पसमा स्ववियु सभापति उमेदवार बने ।

२०४८ देखि लगातार नेपाली कांग्रेसको महाधिवेशन प्रितिनिधि बन्दै आएका गुरुङ २०४८ मा नेविंघको केन्द्रीय उपसभापति चुनिए भने २०५३ मा नेविसंघको नेतृत्व सम्हालेका थिए ।

२०५४ सालमा दरुण दलको महासचिव बनेका उनी २०६४ मा पहिलो संविधानसभा सदस्य बने । नेता गुरुङ २०६७ मा भएको कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका थिए । १३औं महाधिवेशनबाट पुनः कांग्रेस केन्द्रीय सदस्य बनेका उनी २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा बाजी मार्न सफल भएका हुन् ।

राजनीतिक सङ्घर्षका क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोग्दै आएका गुरुङले युवाहरूलाई प्रजातान्त्रिक उद्देश्यका लागि ऐक्यवद्ध गर्ने कुरामा विशेष रुची राख्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरे का छन् । उनले विभिन्न नेपाली पत्रपत्रिकामा लेख रचना प्रकाशित गर्दै आएका छन् । सैद्धान्तिक स्पष्टता, लगनशीलता र जुझारूपनले आफूलाई राजनीतिक सफलतामाा पुर्‍याउँदै आएको उनी बताउँछन् ।

आफ्नै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दायाँ बायाँ नहेरी ‘ठूला भ्रष्टाचारका फाइल निकालेर प्रमुख नेताहरुलाई दण्ड गरेपछि अन्य नेता तथा कर्मचारीमा भ्रष्टाचार गर्ने हिम्मत पनि आउन्न । त्यसपछि बल्ल सुशासन कायम भई नेपाल समृद्धिको बाटोमा लम्किन्छ’ भन्ने उनी कट्टर भ्रष्टाचारविरोधी नेताको रुपमा चिनिँदै आएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १७:४४   :  बजे

3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।