Logo

राजनीति

चितवन– १ : सुरेन्द्र पाण्डेलाई रोक्दै संसद छिर्लान् अर्थशास्त्री विश्व पौडेल ?



काठमाडौं । चितवन निर्वाचन क्षेत्र नं. १ मा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । रोचक यसअर्थमा कि चितवन-१ बाटै जितेर निरन्तर संसद छिर्दै आएका मात्र नभई देशको अर्थमन्त्रीसमेत भइसकेका नेकपा एमालेका सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन् भने उनलाई टक्कर दिन पाँच दलीय सत्ता गठबन्धनले अर्थ क्षेत्रकै विज्ञ विश्व पौडेललाई अगाडि सारेको छ ।

चितवन–१ मा ९ राजनीतिक दलका उम्मेदवार र ११ जना स्वतन्त्र गरी २० जनाले उम्मेदावरी दिएका छन् । एमालेका पाण्डे र गठबन्धनबाट कांग्रेसका पौडेलसहित जनता समाजवादी पार्टीका अजय ठाकुर हजाम, राष्ट्रिय प्रजातन्त्र पार्टीका मधुप कुमार भट्टराई, नेपाल मजदुर किसान पार्टीका अर्जुन प्रजा, मंगोल नेशनल अर्गनाइजेसनका कुमारी थिङ्ग, एकीकृत शक्ति नेपालका नविन खड्का, नेपाल सुशासन पार्टीका गोविन्द प्रसाद रिजाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल उम्मेदवार छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिनेमा कांग्रेस नेता राजेन्द्र प्रसाद बुर्लाकोटीसहित जीवन तामाङ, विष्णु लामा, दीपक पाठक, अरुण कुमार उप्रेती, ओमकृष्ण थपलिया, लितकमणि पाठक, उत्सव धमला, शिवराज उप्रेती, कुमार आचार्य र राजन न्यौपाने छन् ।

यी उम्मेदवारहरुमध्ये एमालेका पाण्डे र गठबन्धनका पौडेलबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । निरन्तर चितवन–१ बाटै जित्दै आएका पाण्डेलाई हराउन पौडेललाई गठबन्धनमा रहेका कांग्रेसहित माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले साथ दिनेछन् । तर बलियो जनतम रहेको एमालेलाई पाखा लगाउन गठबन्धन दलहरुलाई सहज भने छैन ।

वि.सं. २०५४ मा राष्ट्रियसभाको सदस्य भएका सुरेन्द्र पाण्डे ०६४ देखि ०६८ सम्म संविधानसभा सदस्य थिए । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा विजयी भएपछि पाण्डे अर्थमन्त्री भएका थिए । नेता पाण्डे २०३१ सालदेखि पूर्णकालीन राजनीतिमा होमिएर अनेक राजनीतिक उत्तचढावको सामना गरेका अनुभवि नेता मानिन्छन् ।

पाण्डेका प्रतिस्पर्धी विश्व पौडेल उमेरले झन्डै दुई दशक युवा हुन् । उनी अर्थशास्त्री हुन् । कार्य अनुभवका आधारमा उनी पाण्डेभन्दा कामका भने देखिँदैनन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदमा रहेर काम गरेका उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभवसमेत छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् । अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधी उपाधी प्राप्त गरेका पौडलले डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

को कति बलियो ?
२०७० सालको संविधानसभा सदस्य निर्वाचनमा चितवन–१ बटै विजयी भएपछि पाण्डे अर्थमन्त्री भएका थिए । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यहीँबाट विजयी भए । दुबै निर्वाचनमा पाण्डेले नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई पराजित गरेका थिए । २०७४ सालमा पाण्डेले ५१ हजार ८० मत ल्याउँदा बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए । उक्त निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रका बीच तालमेल भएको थियो ।

तर यस पटक माहोल पाण्डेको पक्षमा देखिँदैन । किन भने एमाले आफै विभाजित भएको छ भने माओवादी केन्द्रको साथ छैन । एमालेबाट विभाजित भएर बनेको पार्टी एकीकृत समाजवादी, २०७४ मा साथ दिएको माओवादी केन्द्रसँगै लोकतान्त्रिक समाजवादी र जनमोर्चा यस पटक पाण्डको विक्षमा छन् अर्थात् कांग्रेसका पौडेलका मतदाता हुन् ।

तर टिकट वितरमा असन्तुष्टि जनाउँदै गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता बुर्लाकोटीले बागी उम्मेदवारी दिएका छन् । जसबाट एमालेका पाण्डेलाई फाइदा हुनेमा कुनै दुई मत छैन । जसबाट पाण्डेको जित निश्चित नभए पनि सम्भावना भने बलियो हुन्छ ।

यस्तो छ अंक गणित

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजालाई आधार मान्दा यहाँ एमालेका पाण्डे र गठबन्धनका पौडेलबीच कडा टक्कर पर्ने देखिन्छ । चितवन निर्वाचन क्षेत्र १ मा जिल्लाका राप्ती, खैरहनी र रत्ननगर नगरपालिका पर्छन् । तीन पालिकामा कुल ४२ वडा छन् । स्थानीय तहको चुनावमा पनि गठबन्धन गरेर गएका सत्तारुढ दलहरुले ४२ मध्ये २० वटा वडामा मात्र जितेका छन् । जसमा नेपाली कांग्रेसले १८, मओवादी केन्द्रले एक र एकीकृत समाजवादीले एक वडामा जितेका छन् । यसैगरी २० वटामा एमालेले जितेको छ भने दुई वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

वडा अध्यक्षले पाएका मतका आधारमा गठबन्धन अगाडि देखिन्छ । यी तीन स्थानीय तहबाट एमालेका वडाध्यक्षहरूले ३९ हजार ६०६ र गठबन्धनमा रहेका दलका वडाध्यक्षहरूले ४६ हजार ५७७ मत पाएका थिए ।  प्रमुख/उप्रमुख पदमा पाएका मतले पनि गठबनधनलाई आशावादी बनाउँछ । तीन पालिकामध्ये सबै पालिकामा गठबन्धका उम्मेदवार प्रमुखमा विजय भएका छन् भने तीन वटै पालिका उप्रमुखमा एमालेले बाजी मारेको छ । प्रमुख/उप्रमुखमा एमालेले पाएको भन्दा गठबन्धन झन्डै चार हजार मतले अगाडि देखिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १७:१५   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।