काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था संविधानमा भएपनि प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा महिलाको संख्या नौ प्रतिशतमा सीमित भएको छ । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै चुनावमा होमिएको नेपाली कांग्रेसभित्र महिला उम्मेवारको हिस्सा झनै न्यून छ । गठबनधनमा जुटेको सहमतिअनुसार ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसले पाँच महिलालाई मात्र टिकट दिएको छ । यो भनेको ६ प्रतिशत पनि होइन । यसबाट पनि चुनाव जितेर संसद छिर्नेको संख्या अझ घट्न सक्ने कतिपय आँकडाले देखाउँछ ।
महालक्ष्मी उपाध्यय (डिना)
कांग्रेसले सहमहामन्त्रीसमेत रहेकी महालक्ष्मी उपाध्याय (डिना) लाई मकवानपुर–१ बाट उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा उनी यही क्षेत्रबाट पराजित भएकी थिइन् । उनी त्यसबेला वाम गठबन्धन (एमाले–माओवादी)का उम्मेदवार विरोध खतिवडासँग १२ हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । खतिवडाले निरन्तर चौथो पटक जित निकाल्ने क्रममा ४४ हजार ७ सय ४४ मत ल्याउँदा कांग्रेसकी डिनाले ३२ हजार ६ सय ८५ मत ल्याएकी थिइन् ।
डिनाले यस पटक भने नेकपा एमाले समेतको समर्थन पाएका राप्रपा नेपालका अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । मकवानपुरको क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाको १९ वडामध्ये १५ वटा वडा, बकैया, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा पर्दछन् । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले यी वडामा पाएका मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धन अगाडि देखिन्छ । किन कि कांग्रेस एक्लैको ३४ हजार ७२ मत छ भने माओवादी केन्द्रको १६ हजार ५६२ र एकीकृत समाजवादीको ३ हजार २८३ मत छ ।
एमाले एक्लैको ३८ हजार ५६ मत छ भने राप्रपाले ४ हजार ७० पाएको थियो । जसका आधारमा प्रतिनिधिसभा सदस्य बन्न चौथो पटक चुनावी मैदानमा होमिएकी डिनाले बाजी मार्ने सम्भावना प्रबल छ । तर आसन्न निर्वाचनमा यो मत कायम भने नरहन सक्छ ।
पुष्पा भुसाल
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ टिकट पाउने अर्की भाग्यमानी नेतृ पुष्पा भुसाल हुन् । पूर्वसभामुख समेत रहेकी उनलाई पार्टीले उनकै गृहजिल्ला अर्घाखाँचीबाट उम्मेदवार बनाएको छ । उनी २०७४ मा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी थिइन् । त्यसअघि भुसाल पहिलो संविधानसभा २०६४ सालमा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन् भने दोस्रो संविधानसभा निर्वाचनमा पराजित भइन् ।
बाङ्ग्लादेशका लागि नेपालको पूर्वराजदूत समेत रहेकी उनले यस पटक नेकपा एमालेका टोपबहादुर रायमाझीसँग प्रतिस्पर्धा गर्दै छिन् । अर्घखाँची रायमाझीको पूरानै निर्वाचन क्षेत्र हो । उनी ०७४ मा एमालेसहितको समर्थनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । त्यसबेला रायमाझीले कांग्रेसका डा. रामबहादुर बिसीलाई १८ हजार ४ सय ४४ मत अन्तरले पछि पार्दै विजयी भएका थिए । रायमाझीले ५० हजार ३ सय ८५ मत प्राप्त गर्दा बिसीले ३१ हजार ९ सय ४१ मत ल्याएका थिए ।
यसपटक गठबन्धनकी भुसाललाई हराउन एमालेले पूर्व उपप्रधान तथा ऊर्जा, स्थानीय विकास र भौतिक योजनामन्त्रीसमेत भइसकेका पार्टी सचिव रायमाझीलाई अघि सारेको हो । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको अर्घखाँचीमा सन्धिखर्क नगरपालिका, शीतगङ्गा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका र मालारानी गाउँपालिका गरी ६ स्थानीय तह छन्, जहाँ ६२ वटा वडा छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्षले पाएका मतका आधारमा गठबन्धन साढे पाँच हजार मतले अगाडि देखिन्छ । एमालेले वडामा कुल ४८ हजार १३८ मत ल्याउँदा गठबनधनका उममेदवार ५३ हजार ७६२ मत ल्याएका छन् । स्थानीय निर्वाचनको नतिजाले गठबन्धनकी भुसाललाई सुरक्षित देखाए पनि यो अन्तिम नजिता होइन । यद्यपि तेह्रथुमकी कांग्रेस उम्मेदवार सीता गुरुङकोभन्दा भुसालको संसद छिर्ने संभावना बलियो देखिन्छ ।
सीता गुरुङ
कांग्रेसबाट प्रत्यक्ष प्रतिनिधिसभा निर्वाचन लड्ने अवसर पाउने अर्की नेतृ हुन्– केन्द्रीय सदस्य सीता गुरुङ । जो तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । गुरुङ ०७४ को निर्वाचनमा तेह्रथुमबाटै पराजित भएकी थिइन् । सितालाई हराउँदै माओवादीको समर्थनमा एमालेबाट वर्तमान एकीकृत समजवादी पार्टीका नेता भवानीप्रसाद खापुङ निर्वाचित भएका थिए । खापुङले २१ हजार ३ सय ३५ ल्याउँदा पराजय भएकी सिताले १९ हजार ३ सय १४ मत ल्याएकी थिइन् ।
पूर्व राज्यमन्त्रीसमेत रहेकी सीताले यस पटक एमालेको विजय सुब्बासँग प्रतिस्पर्धा गर्ने छिन् । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा म्याङ्गलुङ्ग नगरपालिका, लालिगुराँस नगरपालिका, आठराई गाउँपालिका, छथर गाउँपालिका, फेदाप गाउँपालिका र मेन्छयायेम गाउँपालिका गरी ६ वटा स्थानीय तह छन् जहाँ ४३ वडा छन् । ३० वैशाखको स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्षहरुले २० हजार ९४९ मत पाउँदा गठबन्धनका वडा अध्यक्षहरुले २२ हजार ६०३ मत पाएका छन् ।
यसबाट एमालेभन्दा गठबनधन १ हजार ६५४ मतले अगाडि छ । यही नतिजा प्रतिनिधिसभा निर्वाचनमा कायम नरहन सक्छ । यो अंकगणितका आधारमा गठबन्धनकी सीताको जित्ने संभावना त्यत्ति बलियो मान्न सकिँदैन ।
सुजाता कोइराला
कांग्रेसले पार्टीका प्रभावशाली नेता मिनेन्द्र रिजाललाई आउट गर्दै मोरङ–२ मा सुजाता कोइरालालाई टिकट दिएको छ । ०७४ मा कांग्रेसका धेरै नेताहरु हार्दै गर्दा गठबन्धनका ऋषिकेश पोखरेललाई हराउँदै बाजी मार्ने मध्येका एक थिए नेता रिजाल । तर यसपटक उनलाई टिकट नदिएर पार्टीले पूर्व उपप्रधानमन्त्री समेत रहेकी गिरिजा पुत्री सुजातालाई अघि सारेको छ ।
यसअघि कांग्रेसका रिजालसँग १ हजार ८०५ मतले पराजित भएका उनै ऋषिकेशसँग सुजाताको भिडन्त हुँदैछ । ०७४ मा माओवादी केन्द्रसमेतको साथ पाउँदा बाजी मार्न असफल भएका ऋषिकेशलाई यस पटक पनि गठबन्धनकी सुजाताविरुद्ध जित निकाल्न सहज छैन । मोरङ–२ मा सुजातालाई कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ रहने छ । गठबन्धनमा पछि जोडिएको लोकतान्त्रिक समाजवादी पार्टीले भने आफैले उम्मेदवार उठाएका छ ।
मोरङ क्षेत्र नं. २ मा रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे नगरपालिकाको वडा नं. ५ र ६, कानेपोखरी गाउँपालिकाको वडा नं. १, २ र ३ तथा रंगेली नगरपालिकाको वडा नं. १, २, ३, ८ र ९ वडा पर्दछन् । यहाँ कुल २९ वडा छन् । गत स्थानीय तह निर्वाचनमा गठबन्धन दलका वडा अध्यक्षहरुले कुल ३५ हजार ७६८ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३१ ह्जार ३३४ मत पाएका छन् । वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्दा गठबन्धन चार हजार मतले मात्र अगाडि छ । यो नतिजाको आधारमा गठबन्धनकी उम्मेदवार सुजाताको जित्ने सम्भावना प्रबल देखिए पनि भर पर्दो भने मान्न सकिन्न ।
चित्रलेखा यादव
कांग्रेसको भाग्मानी पाँच महिला उम्मेदवारभित्र पर्न सफल भएकी छन्– चित्रलेखा यादव पनि । उनलाई आफ्नाे भागमा परेको सिरहा–२ बाट कांग्रेसले उम्मेदवार बनाएको छ । उनको प्रतिद्वन्द्वी नेकपा एमाले सर्मथित जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादव हुन् । सिराहा–२ का लागि यस पटक चित्रलेखा र राजकिशोर दुवै नयाँ हुन् । २०७४ मा यस क्षेत्रबाट वाम गठबन्धनबाट माओवादी केन्द्रका सुरेशचन्द्र दास विजयी भएका थिए । उनले आफ्ना प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फाेरमका उम्मेदवार सत्रुधन सिंहलाई पराजित गरेका थिए ।
यस पटक सिराहा–२ मा चित्रलेखा र राजकिशोरबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चित्रलेखालाई कांग्रेससहित, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको समर्थन छ भने राजकिशोरलाई आफ्नै पार्टी जनता समाजवादीसहित एमालेले भोट हाल्ने छ । तुलनात्मक रुपमा अन्य क्षेत्रमाभन्दा मधेशमा राम्रो जनमत रहेको मानिएकाे जसपालाई एमालेले समर्थन गर्दा राजकिशोरको जित्ने संभावना थप बढी हुन्छ, तर स्थानीय तहको परिणाम ठीक उल्टाे छ । यसैलाई आधार मान्ने हो भने गठबन्धनकी चित्रलेखा नै अघि देखिन्छिन् ।
सिराहा–२ मा सुखीपुर नगपालिका, धनगढीमाई नगरपालिकाको वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४, लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. १, गोलबजार नगरपालिका वडा नं. १३ पर्छ । जसमा २५ वटा वडा छन् । गत स्थानीय तह निर्वाचनमा लोसपासहित गठबन्धनका वडा अध्यक्षहरुले १९ हजार ५४६ मत पाएका थिए भने जसपा र एमालेका वडा अध्यक्षले १६ हजार ४४६ मत पाएका थिए । यसलाई आधार मान्ने हो भने गठबन्धनकी चित्रलेखा ३१ सय मतले बिलिया देखिएकी छन् । यद्यपि यही परिणाम प्रतिनिधिसभा निर्वाचनमा नदाहोरिन सक्छ । तसर्थ गठबन्धनकी चित्रलेखाको जित्ने सम्भावनालाई पनि त्यत्ति बलियो मान्न सकिँदैन । तर गठबन्धन दलहरुका लागि आशा गर्ने ठाउँ भने रहन्छ ।
अघिल्लो निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ सात जनालाई उम्मेदवार बनाएको थियो । तर सबै पराजित भएका थिए । यस पटक प्रत्यक्षबाट मौका पाएका भुसाल, कोइराला र यादव तीनै जना समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा बनेका थिए । यस पटक दलहरुले महिला उम्मेदवारलाई प्रत्यक्षतर्फ चुनाव लड्ने मौका कम दिनुका साथै उनीहरुले जित्ने आधारसमेत बलिया नहुँदा प्रतिनिधिसभामा महिलाको उपस्थिति झनै खुम्चिने चिन्ता बढ्दो छ ।




















प्रतिक्रिया