काठमाडौं । तीन दशकयता इलाममा एकछत्र राज गर्दै आएका झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचन पनि इलामबाटै लड्दै छन् । २०४८ सालको संसदीय निर्वाचनदेखि २०५६ मा बाहेक कहिल्यै हार नव्यहोरेका खनाल २०६७ मा मुलुकको ३५औं प्रधानमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । २०४८ को संसदीय निर्वाचन र ०५१ को निर्वाचनमा बाजी मार्न सफल उनी ०५६ मा भने पराजित भएका थिए । ०६४ पहिलो संविधानसभा निर्वाचनमा पुनः विजयी झन्डा फहराएका खनालले त्यसयता हार्न परेको छैन ।
२०४८ मा एमालेबाट उम्मेदवार बनेका खनालले कांग्रेसका नेता तोयानाथ भट्टराईलाई ६ हजारभन्दा बढी मतले हराएका थिए । खनाले २५ हजार ५ सय ४० मत ल्याउँदा भट्टराईले १९ हजार २ सय ७० मत मात्रै ल्याएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा पनि एमालबाटै खनालले उनै भट्टराईलाई हराएर बाजी मारेका थिए । त्यसबेला खनालले १४ हजार ३ सय ८३ मत ल्याउँदा भट्टराईले १४ हजार १ सय ७३ मत मात्रै पाएका थिए ।
०५६ मा खनाललाई ह्याट्रिक गर्नबाट बेनुपराज प्रसाईंले रोके । तर खनाल ठूलो मतान्तरले हारेका भने थिएनन् । प्रसाईंले १८ हजार ६ सय ८ मत ल्याउँदा खनालले १८ हजार ५ सय २ मत ल्याएका थिए । ०६४ मा आएर खनालले पहिलो संविधानसभाको चुनावमार्फत उनै प्रसाईंसँग ०६५ को बदला लिए । त्यसबेला खनाल १७ हजार ६ सय ५५ मत ल्याएर विजयी हुँदा प्रसाईंले १३ हजार ७ सय ७४ मत मात्रै ल्याएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि खनालले इलाम–१ बाटै आफ्नो विजयी यात्रालाई निरन्तरता दिए । उनले नेपाली कांग्रेसका हिमालय कर्माचार्यलाई १ हजार ८१५ मतले हराएका थिए । खनालले १७ हजार ३ सय ४२ मत ल्याउँदा कर्माचार्यले भने १५ हजार ५ सय २७ मत मात्रै पाएका थिए ।
मुलुकले नयाँ संविधान पाएपछि २०७४ मा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि खनालले इलाम–१ बाटै बाजी मारे । त्यसबेला वाम गठबन्धन बनेको थियो । नेकपा माओवादी केन्द्रसमेतको साथ पाएका उनले नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले हराएका थिए । एमालेबाट उम्मेदवार भएका खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए भने कांग्रेसका कट्टेलले १९ हजार ६ सय ३८ मत ल्याएका थिए ।
खनाललाई कति सहज ?
उमेरले सात दशक नाघिसकेका खनालले विजय श्रृंखलालाई यसपटक पनि कायम राख्न चाहन्छन् । नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल यसपटक पनि पुनः इलाम १ बाटै उम्मेदवार बनेका छन् । इलाम–१ बाट प्रतिनिधिसभा चुनाव लड्न तीन स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेले पार्टी जिल्ला अध्यक्ष महेश बस्नेतलाई अघि सारेको छ । बस्नेत २०५४ देखि ०५९ र २०७४ देखि २०७९ सम्म २ कार्यकाल इलाम नगरपालिकाको मेयर भइसकेका व्यक्ति हुन् । अन्य दल र स्वतन्त्र गरी ११ उम्मेदवार चुनावी मैदानमा होमिएका भए पनि मुख्यरुपमा एकीकृत समाजवादीका खनाल र एमालेका बस्नेतबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
इलाम–१ एमालेको बलियो जनमत रहेको क्षेत्र हो । तर ‘भाग्यमानीको भूतै कमारो’ भनिएझैँ तेस्रो शक्तिका रुपमा रहेको एकीकृत समाजवादीका खनालले आफ्नो विजय यात्रालाई सहजै निरन्तरता दिने देखिन्छ । ०७४ मा माओवादी केन्द्रसहितको समर्थनमा सान्दार जित निकालेका उनले यस पटक पनि सहजै बाजी मार्न सक्छन्, तर त्यसका लागि सत्ता गठबन्धन अन्तर्घातबाट भने टाढै रहनुपर्छ । गत स्थानीय तह निर्वाचनको नतिजा अनुसार तेस्रो स्थानमा रहेको एकीकृत समाजवादीका खनाललाई जित आफ्नो पोल्टामा पार्नका लागि गठबन्धनको प्रमुख घटक कांग्रेसको इमान्दारितापूर्ण साथ चाहिन्छ । यसैगरी अर्को घटक माओवादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चाको साथ पनि खनाललाई रहँदा उनको जित्ने आधार थप बलियो छ ।
खनालका मुख्य प्रतिद्वन्द्वीका रुपमा हेरिएका एमालेका बस्तेलाई भने सकस पर्ने सहजै अनुमान लगाउन सकिन्छ । पाँच वर्ष अघिको सारथी माओवादी केन्द्र अहिले विपक्षसँग मिलेर आफैमाथि आइलाग्दैछ भने स्वयं एमाले सग्लाे छैन । अन्तिममा आएर जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धन गरेको भए पनि इलाम- १ मा उसले आफ्नै उम्मेदवार उठाएकोले एमालेलाई सहयोग गर्ने छैन । यसर्थ एमाले एक्लै गठबन्धनसँगको ‘ब्याटल’मा उत्रिँदै छ भने विपक्षमा पाँच दल सँगै छन् ।
यस्तो छ अंक गणितीय विश्लेषण
इलाम क्षेत्र नं. १ मा सन्दकपुर, माइजोगमाइ, रोङ गाउँपालिकाका र सूर्योदयन गरपालिका, माई नगरपालिकाको वडा १, ३, ४, ५, ९, १० र इलाम नगरपालिकाको वडा नं. १० पर्छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन अनुसार एमाले इलाम– १ को ठूलो दल हो । यसैगरी कांग्रेस दोस्रो र एकीकृत समाजवादी तेस्रो दल हुन् ।
यो क्षेत्रमा एमालेका वडा अध्यक्षहरुले सबैभन्दा बढी २६ हजार २३३ मत पाएका छन् । कांग्रेसका वडा अध्यक्षहरुले २५ हजार ७७२ मत ल्याउँदा खनालको पार्टी एकीकृत समाजवादीले वडामा १० हजार ४२९ मत पाएको छ ।
कांग्रेसको २५ हजार ७७२ मत र एकीकृत समाजवादीका वडा अध्यक्षले पाएका १० हजार ४२९ गरी खनालसँग ३६ हजार बढी मत छ । यसैगरी माओवादी केन्द्रको केही हजार मत र लोसपा र जनमोर्चाको भोट पनि खनाललाई जाने छ । यो मत परिणामलाई आधार मान्ने हो भने खनाललाई निक्कै सहज देखिन्छ । यद्यपि आसन्न निर्वाचनमा यही नतिजा कायम भने नरहन सक्छ ।




















प्रतिक्रिया