काठमाडाैं । एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा प्रतिनिधिसभा सदस्य चुनावका लागि उदयपुर– २ बाट उम्मेदवार बनेका छन् । ०७४ मा यो क्षेत्रबाट वाम गठबन्धनबाट माओवादी केन्द्रका सुरेशकुमार राई ‘हिमाल’ विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारायण कार्कीले १५ हजार ४ सय ५१ मत प्राप्त गर्दा एमालेको साथ पाएका राईले ४२ हजार ९ सय १० मत पाएका थिए ।
यस पटक एमालेका अम्बरबहादुर रायामाझीलाई चुनौती दिन वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका खतिवडालाई गठबन्धनकै प्रमुख घटक कांग्रेसका रामकुमार राईले चुनौती दिँदै छन् । सिट बाँडफाँड गर्दा उदयपुर– २ एकीकृत समाजवादीको भागमा परेपछि राईले विद्रोह गरेका हुन् । उनकै कारण खतिवडालाई सकस पर्ने देखिन्छ । रामकुमार राई आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् । नजिते पनि उनले जगन्नाथ खतिवडालाई जानसक्ने कांग्रेसी भोट काट्नेछन् । यसको फाइदा एमालेका रायामाझीलाई पुग्न सक्छ ।
यस्तो छ हिसाबकिताब
उदयपुर– २ मा रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका, सुनकोशी गाउँपालिका र कटारी गनरपालिका पर्छन् । यहाँ गत स्थानीय चुनावमा वडा अध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा एमाले पहिलो दल हो । एमालेका वडा अध्यक्षहरुले १८ हजार ५७३ मत प्राप्त गरेका छन् । ११ हजार ३४४ मतसहित कांग्रेस दोस्रो, ८ हजार २०२ मतका साथ माओवादी केन्द्र तेस्रो, ३ हजार ४२७ मतका साथ एकीकृत समाजवादी चौथो र १ हजार ४ सय ३४ मत पाएको जसपा पाँचौँ स्थानमा छ । यो मतपरिणामलाई आधार मान्दा गठबन्धनसँग २२ हजार ९ सय ७३ मत हुन आउँछ, जुन एमालेको भन्दा ४ हजार ४ सय बढी हो । जसले जगन्नाथको जित सुनिश्चित देखाउँछ ।
तर, स्वतन्त्र उम्मेदवार राईका कारण खतिवडालाई अफ्ठ्यारो पर्न सक्छ । त्यहीमाथि उदयपुर कांग्रेस दुई समूहमा विभाजित छ । यद्यपि, केन्द्रीय राजनीतिमा दखल राख्ने नेता भएकाले यसपल्ट खतिवडाको जित सुनिश्चित रहेको गठबन्धनका नेताहरूको दाबी छ । त्यसो त उदयपुर–२ खतिवडाका लागि चिरपरिचित निर्वाचन क्षेत्र हो । उनले ०५६ सालमा उनले यही क्षेत्राट जितेका थिए । ०७० को दोस्रो संविधनसभा निर्वाचनमा भने उनी पराजित भए । ०७४ मा केन्द्रसँग वाम गठबन्धन बन्दा पाइसकेको टिकट उनले माओवादीलाई बुझाउनुपरेको थियो । त्यस बेला उनी एमालेमा थिए ।




















प्रतिक्रिया