काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् । उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुरमुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताएका हुन् ।
शुक्रवार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा नै भएको जिकिर गरे । उनले आगामी ५ वर्ष स्थिरता कायम गरी देश विकासका लागि खर्च गर्ने समय रहेको बताए ।
गठबन्धन हार्दा लोकतन्त्र धरापमा पर्ने भट्टराईले बताए । ‘यसले हार्नु भनेको २००७ साल देखिको लडेर ल्याएको लोकतन्त्र धरापमा पर्नु हो । नेपालको राजधानी काठमाडौँ नेपालको राजनीतिको ५० औँ वर्षदेखि निर्णय गर्ने दिशा कता जान्छ, त्यो निर्णय काठमाडौँले गर्ने गरेको छ । हामीबाट पनि विगतमा केही कमजोरी भए । लोकतन्त्र भनेको सिक्दै जाने हो । हामीबाट पनि केही मानवीय कमजोरी भएकै हो । तर त्यसको बहानामा यसलाई उल्ट्याउने हर्कत सह्य हुन सक्दैन’, उनले भने ।
भट्टराईले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरूमा निराशा छाएको बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुनिरहेको बताए । उनले पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको दाबी गरे ।




















प्रतिक्रिया