काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्काे ब्याजविरुद्ध भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् । भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघसंस्थाहरुको उपस्थितिमा ज्ञापन पत्र पेश गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र पेश गर्दै भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले चर्को ब्याजदरले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । बैंक तथा वित्तिय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप भने बढ्न नसकेको उद्योगी व्यवसायीको भनाइ छ । निक्षेप बढ्न नसकेपनि ब्याजदर उच्च हुँदा गम्भीर नकारात्मक असर परेको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीले स्थानीय प्रशासन समक्ष ४ बुँदे ध्यानकर्षण पत्र बुझाएका हुन् ।
ब्याजदरको बर्तमान असर र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई वान्छित सीमाभित्र भित्र राख्नु पर्ने नीति अवलम्बनका लागि पनि उद्योगी व्यवसायीले माग गरेका छन् । यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिसतमात्रै प्रिमियम थप गर्ने व्यवस्था लागु हुनु पर्ने माग गरिएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने अवस्था रहेको तर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् । साथै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनु पर्ने तर्फ पनि व्यवसायीले सुझाव दिएका छन् ।
ज्ञापन पत्र पेश गर्ने क्रममा भक्तपुर चेम्बर अफ कमर्ससंगै भक्तपुर नगर चेम्बर, चाँगुनारायण नगर चेम्बर, मध्यपुरथिमि नगर चेम्बर, सूर्यविनायक नगर चेम्बर, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीग संघ, नेपाल औषधी व्यवसायी संघ, भक्तपुर जिल्ला समिति, भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



















प्रतिक्रिया