Logo

खेलकुद

टी-२० विश्वकप : शीर्ष १२ भिडन्त आजबाट



सिड्नी । टी-२० विश्वकपको शीर्ष १२ को भिडन्त आजबाट सुरु हुँदै छ । सुपरा १२ को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र साविक उपविजेता न्युजिल्यान्डबीच दिउँसो १२स्४५ मा प्रतिस्पर्धा हुन लागेको हो । सिड्नीमा हुने खेलमा वर्षाको खतरा रहेको छ ।

मौसम विभागले शनिबार भारी वर्षाको आशंका जनाएकाले खेल हुने अन्योलता भने कायमै छ । यद्यपि यी दुई टिम मैदानमा उत्रिँदा गत विश्वकपको फाइनलको याद ताजा हुने छ ।

न्युजिल्यान्डलाई विश्वकपको फाइनलमा भोगेको पराजयको बदला लिने मौका छ । जबकि अस्ट्रेलिया आफ्नो विजेता छवि कायम राख्न चाहन्छ । दुबईमा भएको साविक फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

टी–२० विश्वकपअघि अस्ट्रेलिया र न्युजिल्यान्डले एक अर्काविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेलेका थिए । जहाँ अस्ट्रेलियाले ३–० को जित निकालेको थियो ।

त्यसपछि विश्वकपका लागि भएको वार्मअप खेलमा भने अस्ट्रेलिया भारतसँग ६ रनले हार्दा न्युजिल्यान्डले भने दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

पछिल्ला पाँच खेमला अस्ट्रेलियाले ३ खेलमा हार भोग्दा दुई खेलमा जित निकालेको छ । न्युजिल्यान्डले भने ३ खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ। दुवै टिम राम्रो लयमा रहेकाले खेल प्रतिस्पर्धात्मक हुने आंकलन गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार ११:२८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।