Logo

अन्तर्राष्ट्रिय

सकियो चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन : सीलाई तेस्रो कार्यकाल



काठमाडौं । राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालको नेतृत्वलाई अनुमोदन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २० औं महाधिवेशन बेइजिङमा सम्पन्न भएको छ । महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दा शक्तिशाली पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई बिदा दिएको छ ।

वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री हुन् । ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् । पार्टीभित्र तेस्रो वरियतामा रहेका लीले भदौको अन्तिम साता नेपालको भ्रमण गरेका थिए । प्रधानमन्त्री ली दोस्रो वरियतामा रहेका थिए ।

केन्द्रीय कमिटीले पोलिटब्युरो र स्ट्यान्डिङ कमिटीको गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक आइतबार बस्ने छ ।

एक साता चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ । चिनियाँ विशेषताअनुसारको चिनियाँ समाजवादसम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ । त्यसैअनुरूप हुने गरी पार्टीको विधानलाई पनि संशोधन गरिएको छ ।

पाँच वर्षअघि भएको पार्टीको १९ औं महाधिवेशनले सी विचारधारालाई अपनाउने निर्णय गरेको थियो । एजेन्सी

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार १२:२२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।