Logo

खेलकुद

सन्दीप प्रकरण : अनुसन्धान सकेर प्रहरीले बुझायो फाइल, १२ वर्ष कैद सजाय माग



काठमाडौं । बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछाने विरुद्धको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाएका छ । प्रहरीले शुक्रबार अनुसन्धान फाइल पेस गरेको सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।

मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ । प्रहरीको प्रतिवेदनमा यही मुलुकी फौजदारी अपराध संहिता अनुसार प्रहरीले सन्दीपविरुद्ध आरोप पुष्टि भएको दाबी गर्दै उनलाई १२ वर्षसम्मको कैद सजाय हुनुपर्ने सुझाव प्रतिवेदनमा दिएको छ ।

शुक्रबार नै अनुसन्धान फाइल सरकारी वकिल पुगे पनि सोमबारबाट तिहारको बिदा भएकाले तिहारपछि मात्रै थुनछेक बहस हुने सम्भावना रहेको छ । सरकारी वकिल कार्यालयले भने आज आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी थालेको जनाएको छ । अदालतले थुनछके बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ ।

१७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन् । त्यसबेला सन्दीप देशबाहिर थिए । उनीविरुद्धको अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिनुका साथै अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा समेत डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप नेपाल फर्किएका थिए । काठमाडौं अर्लने वितिक्कै उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार ११:४३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।