काठमाडाैं । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ यस पटक बारा क्षेत्र नं. ४ पुगेका छन् । यसअघि उनले जितेका तनहुँ क्षेत्र नं.१ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छाडेर उनी बारा–४ पुगेका हुन् । ०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले कांग्रेसका उनै पौडेललाई पाराजित गरेका थिए । त्यसबेला श्रेष्ठले ३४ हजार ४९२ मत ल्याएर विजयी हुँदा कांग्रेसका पौडेलले २७ हजार ६९० मत पाएका थिए । तर अहिले श्रेष्ठको पार्टी एकीकृत समाजवादी कांग्रेसले नै नेतृत्व गरेको गठबन्धनमा रहेकाले पौडेललाई श्रेष्ठसँग बदला लिने अवसर मिलेन ।
बारा–४ मा प्रतिनिधिसभा चुनाव लड्न १० जना स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दिएका छन् । तर गठबन्धन समर्थित श्रेष्ठ र नेकपा एमालेका एकवाल मियाँबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । उनीहरु दुवै जना पूर्वमन्त्रीहरु हुन् । श्रेष्ठ पूर्व श्रम तथा रोजगार सुरक्षा मन्त्री हुन् भने मियाँ पूर्व युवा तथा खेलकुद मन्त्री हुन् । श्रेष्ठलाई पाँच दलीय गठबन्धनको समर्थन रहने छ भने मियालाई एमालेसहित जसपाको समर्थन छ ।
मियाँ ०७४ मा बारा–४ बाटै निर्वाचित भएका थिए । उनी त्यसबेला जसपामा थिए । त्यसबेला मियाँले २२ हजार २ सय ७५ मत प्राप्त गरेका थिए भने बामगठबन्धनका देवनारायण थारुले २० हजार ६ सय ७ मत प्राप्त गरेका थिए । कांग्रेसका लालबाबु सिंहले १४ हजार ५ सय १६ मत पाएका थिए ।
यस्ताे छ अंक गणित
बारा–४ मा विश्रामपुर गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिकाका १ देखि ४ सम्मका वडा, प्रसौनी गाउँपालिकाका ७ वटा वडा, जीतपुरसिमरा उपमहानगरपालिकाका १–१० र १९–२४ सहित १६ वटा र कलैया उपमहानगरपालिकाको वडा नम्बर १७ वडा गरी ३८ वटा वडा यो क्षेत्रमा पर्छन् ।
गत वैशाख ३० को स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमाले सबैभन्दा ठूलो दल बनेको छ । वडाको मतका आधारमा एमालेले सबैभन्दा बढी २१ हजार १६७ मत ल्याएको छ भने नेपाली कांग्रेसले १६ हजार ५८९, लोसपाले १५ हजार ८०, माओवादी केन्द्रले ९ हजार १३, श्रेष्ठको पार्टी एकीकृत समाजवादीले ५ हजार १९, विवेकशील साझाले १ हजार ६२६ र राप्रपाले १ हजार १५४ मत पाएको देखिन्छ अन्य साना दललाई २ हजार ५५८ भोट खसेको देखिन्छ । स्थानीय निर्वाचनको मतलाई आधार मान्दा सत्ता गठबन्धनसँग ४५ हजार ७०१ र एमाले–जसपा गठबन्धनसँग २६ हजार ८५८ मत देखिन्छ । यसबाट गठबन्धनका श्रेष्ठको जित सहज देखिन्छ । तर त्यसका लागि सम्पूर्ण रुपमा कांग्रेसमै भर पर्नुपर्ने देखिन्छ । पाँच हजार मत ल्याउने पार्टीका उम्मेदवार श्रेष्ठलाई जिताउन कांग्रेसले साढे १६ हजार बढी मत उनका लागि खन्याउनुपर्ने हुन्छ ।
श्रेष्ठलाई पर्न सक्छ अफ्ठ्याराे
सिधा अंग गणितले श्रेष्ठको जित निश्चित जस्तै देखाए पनि ढुक्क हुने अवस्था छैन । किन भने व्यापारिक पृष्ठभूमिका कांग्रेस नेता इच्छाबहादुर वाग्लेको विद्रोहले उनलाई अफ्ठ्यारो पार्न सक्छ । जसबाट विपक्षी एमालेका मियाँको सम्भावनालाई पनि नकार्न सकिने अवस्था छैन । सामाजिक क्षेत्रमा काम गरेका वाग्ले व्यापारीमात्र नभएर कांग्रेसको राजनीतिमा लामै समयदेखि छन् । कांग्रेसबाट श्रेष्ठलाई आउने भोट वाग्लेले काटेभने श्रेष्ठ अफ्ठ्यारोमा पर्न सक्ने र मियाँलाई सहज हुने देखिन्छ ।




















प्रतिक्रिया