काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई स्पष्टीकरण सोधेको छ । आफ्ना निर्वाचन क्षेत्रका बासिन्दालाई निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिने, बिरामीलाई चिकित्सकीय परामर्श उपलब्ध गराउने भन्दै थापाले सामाजिक सञ्जालमा ट्विट गरेको उजुरीको आधार २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
‘निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी हुँदाहुँदै तपाईंले निर्वाचन आचारसंहिताविपरीत हुनेगरी ट्विटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।
थापाको ट्विट निर्वाचन आचारसंहिता प्रतिकूल भएको भन्दै स्ष्टीकरणमा भनिएको छ, ‘निर्वाचनमा मतदातालाई स्वतन्त्ररूपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा निर्वाचनको स्वच्छता र निष्पक्षताको प्रतिकूल हुने गरी ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा र आवश्यक चिकित्सकीय परामर्श सेवा प्रदान गर्छौं’ भन्ने समेत विषय उल्लेखित ट्वीट तपाईंले नै गर्नुभएको होइन भन्ने आधार र कारण के छ ? साथै तपाईंले आफ्नो ट्वीटर एकाउन्टमार्फत गर्नुभएको सार्वजनिक सूचना निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) प्रतिकूल भई उक्त कार्यबाट निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?’




















प्रतिक्रिया