काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीको विधान विपरीत राजावादी र धर्मलाई राजनीतिक हतियार बनाउनेहरुसँग साँठगाँठ गरेको भन्दै आपत्ति जनाएका छन् । उनले हिन्दु राज्यको माग्दै हिँडेको राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजतन्त्र र हिन्दु राज्यको एजेन्डा बोकेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतसँग साँठगाँठ गरेर समाजवादको अधार कसरी तय हुन्छ (?) भन्दै प्रश्न गरेका छन् ।
एमाले पूर्व उपाध्यक्ष रावलले शुक्रबार सामाजिक संजालमा लेखेका छन्, ‘एमालेको विधान महाधिवेशनको प्रतिवेदनमा राजतन्त्र फर्काउने र धर्मलाई हतियार बनाउने कुराको विरोध (पृ.११०) एवं समाजवादको आधार तयार गर्ने (पृ.११३) उल्लेख छ । यसको विपरीत कमल, एकनाथ, राजेन्द्र र हृदयशसंग साठगाँठ गरिएको छ । यस्तो कामले के समाजवादको आधार तयार गर्न सहयोग पुग्छ त ?’
अध्यक्ष केपी शर्मा ओलीको कदम र पार्टी सञ्चालन गर्ने तौरतरिकाप्रति प्रश्न उठाउँदै आएका नेता रावल टिकट नपाए पनि एमालेमै छन् । यद्यपि उनले आफू पार्टीका नेताहरुका लागि मत माग्ने अवस्थामा नरहेको बताउँदै आएका छन् । रावलको नाम क्षेत्रीय कमिटीले एकल रुपमा अछाम–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको भए पनि उनलाई नदिई माओवादी छाडेर एमालेमा गएका झपट बोहरालाई पार्टीले टिकट दिएको छ ।




















प्रतिक्रिया