Logo

समाचार

सोमबार पनि निगमको दिल्ली उडा रद्द, सयौं यात्रु अलपत्र



काठमाडौं । नेपाल वायुसेवा निगमले दिल्लीका लागि सोमबार पनि दुई उडान रद्द गरेको छ । निगमले सोमबार बिहानको नियमित र दिउँसोका लागि राखेको चार्टर गरी दुइटा दिल्ली उडान रद्द गरेको हो ।

निगमको वाणिज्य विभागले मातहतका विभागीय प्रमुख, उपप्रमुख तथा उडानसँग सम्बन्धित इकाईहरुलाई अहिले बिहानको काठमाडौं–दिल्ली–काठमाडौं र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेको काठमाडौं–दिल्ली–काठमाडौंको उडानका यात्रुहरुका लागि सोमबार तय गरेको चार्टर उडान पनि रद्द भएको जानकारी गराएको छ । आफ्ना मातहतका कर्मचारीलाई वाणिज्य विभागले यी दुई उडान रद्द गर्नुको कारण ‘अपरेसनल’ भनेको छ ।

निगम प्रवक्ता अर्चना खड्काका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले जाडोयामका लागि जारी गरेको उडान अनुमतिमा आइतबार र शुक्रबारको दिउँसोको उडान र सोमबार र बिहीबारको बिहानको उडान कटौतीमा पारेकाले निगमले सोमबार बिहानको नियमित उडान रद्द गर्नुपरेको हो । त्यस्तै आइतबार काठमाडौंमा अलपत्र परेका यात्रुहरुका लागि तय गरेको चार्टर उडानको अनुमति नपाइएपछि निगमले उक्त उडान पनि नगर्ने इमेल कर्मचारीहरुलाई गरेको बताइएको छ ।

निगमले आइतबारअघि काठमाडौं–दिल्ली–काठमाडौं बिहान र दिउसो गरी दैनिक दुइटा गर्दै आएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १६:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।