Logo

राजनीति

कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम



चितवन । जिल्लामा कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम घरदैलोमा गरिने भएको छ । मतदाता शिक्षा जिल्लास्तरीय समितिको आज यहाँ सम्पन्न बैठकले मतदाता शिक्षा कार्यक्रमलाई समुदायस्तरमा लैजाने निर्णय गरेको हो । बैठकले मङ्सिर १ गतेसम्म स्थानीय तहका सबै वडामा एकै साथ घरदैलो कार्यक्रमको व्यवस्था मिलाउन मतदाता शिक्षा सञ्चालक समितिलाई आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ ।

मतदाता शिक्षासम्बन्धी सम्पूर्ण सरोकारवालासँग समन्वय गर्दै स्थानीय तहले आयोगको अनुमतिमा विभिन्न सङ्घसंस्था र निकायबाट सञ्चालन गर्ने मतदाता शिक्षासम्बन्धी घरदैलो, घुम्ती टोली कार्यक्रमको समन्वय, सहजीकरण र अनुगमन गर्नेछ । जिल्लामा प्राप्त शिक्षा सामग्री सरोकारवालालाई उपलब्ध गराई मतदाता शिक्षासम्बन्धी अध्ययन, अनुसन्धानलाई आवश्यक सहयोग र समन्वय गर्ने बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । समितिको संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बैठक बसेको थियो । मतदाता शिक्षाका लागि जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहेको छ भने पालिकामा प्रमुख प्रशासकीय अधिकृत र वडा तहमा वडा सचिवको संयोजकत्वमा समिति रहने व्यवस्था छ ।

साहित्यकार सम्मान महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा यहाँका तीन जना कवि तथा साहित्यकारलाई सम्मान गरिएको छ । वाल्मीकि साहित्य सदन चितवनले कवि तथा साहित्यकारहरूलाई सम्मान गरेको हो । कवि एवं साहित्यकार उदय अधिकारी, गीता लामिछाने र मुकुन्द पौडेललाई सम्मान गरिएको हो । कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट एवं कवि प्रा डा कृष्णप्रसाद पौडेललाई मानार्थ सदस्यतासमेत प्रदान गरिएको छ । प्रमुख अतिथि समीक्षक डिआर पोखरेलले उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित साहित्यकारको व्यक्तित्व र कृतित्वका बारेमा कपिल अज्ञात, केशवराज आमोदी, लक्ष्मणहरि अर्याल र सुरेशचन्द्र अधिकारीले चर्चा गरेका थिए ।

नेपाली भाषा–साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिएवापत स्रष्टाहरूलाई सम्मान गरिएको सदनका अध्यक्ष रामबाबु घिमिरेले बताए । कार्यक्रममा साहित्यकार इन्द्र रेग्मी र शिक्षाविद् रमाकान्त सापकोटाले साहित्यको क्षेत्रमा सम्मानित व्यक्तित्वहरूले पु¥याएको योगदानको चर्चा गरेका थिए । सोही अवसरमा कवि एवं साहित्यकार धनराज गिरी, निर्दोष जीवन, चेतराज रेग्मी, रामकृष्ण ढकाल, किसान प्रेमी, सर्वज्ञा पौडेल, लीला दाहाल अधिकारी, पुष्प अधिकारी अञ्जलि, हरिप्रिया रिजाल, रोजिना लोहनी, सीता कँडेल सापकोटा, राजेन्द्र घायल, कमल अर्याल, पोषराज पौडेल, गिरिराज डल्लाकोटी, तिलकराज शर्मा, राजेन्द्र हमालले शुभकामना एवं रचना वाचन गरेका थिए । रासस

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार २०:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।