भक्तपुर । काठमाडौँको मिनभवन स्थित सहकारी विभागमा अहिले दिनहुँ सयौँ मानिसहरु दुई ओटा समस्या लिएर आउँछन । एउटा, हामीले सहकारीमा जम्मा गरेको पैसा सहकारीले फिर्ता गरेन वा भाग्यो त अर्को सहकारीको सञ्चालक वा कार्यसमितिबाट मेरो नाम हटाइदिनुस् । सहकारीले पैसा फिर्ता नगरेको वा भागेको भन्दै समस्या लिएर त्यहाँ आउने पीडितहरुको अवस्था देख्दा जोसुकैको आँखा रसाँछ ।
पीडितहरु सहकारीमा आफूले राखेको पैसा २० हजारदेखि ७ करोडसम्म फसेको भन्दै आँखाबाट आँसु झार्छन् । तर सर्वसाधारण यसरी फस्दा वा डुब्दा पनि विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित कानमा तेल हालेर बसिरहेका छन् । उनी न पैसा फिर्ता नदिने सहकारीमाथि अनुगमन नै गर्छन्, न जनताको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही नै गर्छन् । विभागका महानिर्दैशक पण्डित जनताले तिरेको करबाट तलब खान्छन्, सरकारी गाडी चढ्छन्, तर तीनै जनतालाई रुवाउँछन्, तड्पाउँछन् ।
दिनमा सयौँ मानिसहरु सहकारीले पैसा फिर्ता दिएन वा साँवा र ब्याज नै दिएन भनेर सहकारी विभागमा धाउँछन्, गुनासो गर्छन् अनि फर्किन्छन् । तर सहकारी विभागका महानिर्देशक पण्डित भने उल्टै आफ्नै बचाउ गर्दै भन्छन्, ‘होइन सबै सहकारी यस्ता छैनन्, कुनै कुनै सहकारी मात्र भागेका हुन् ।’
आफूहरुको कुरा नसुन्ने, पैसा फिर्ता नदिने वा भाग्ने सहकारीलाई कारबाही नगर्ने र जनतालाई पनि सहकारीमा पैसा नराख्नुस् भनेर सूचना सम्म पनि गर्ने विभागका महानिर्देशक सहकारीसँगै मिलेको पीडित बताउँछन् । एक पीडित भन्छन्, ‘हामी यहाँ ६ महिनादेखि धाइरहेका छौँ तर पनि विभागले हाम्रो आवाज सम्बिन्धित निकायले सुनिरहेको छैन । साथै विभागका महानिर्देशक र सहकारीका सञ्चालकहरु मिलेका छन् । हामीलाई हाम्रो पैसा फिर्ता गरेका छैनन् ।’
पछिल्लो समय बजारमा धेरैजसो सहकारीहरु डुबिसकेको वा भागिसकेको सुनिन्छ । साथै सहकारीहरु यसरी डुबेपछि सहकारीका सञ्चालक वा कार्यसमितिमा बसेका मानिसहरु जनतालाई आफ्नो निजी सम्पत्ति बेचेर पैसा फिर्ता गर्नुपर्छ भनेर सहकारी विभागमा दिनहुँ कार्यसमितिबाट नाम हटाउन धाइरहेका छन् । साथै कतिले त विभागका महानिर्देशकलाई १० लाखदेखि ५० लाखसम्म दिएर कार्यसमितिबाट आफ्नो नाम हटाइरहेको विभागकै एक कर्मचारी नाम नबताउने सर्तमा बताउँछन् ।
पहिलापहिला सहकारीको कार्यसमिति वा सञ्चालकमा बस्न मानिसहरुको हानाथाप हुने गथ्र्यो भने अहिले सहकारीको कार्यसमितिबाट आफ्नो नाम हटाउन सहकारी विभागमा मानिसहरुको लर्को लागेको पाइन्छ । सहकारीबाट यसरी धेरै पीडित भइरहेका भए पनि नियामक निकायले भने सहकारीमा पैसा नराख्नुस्, जोखिम छ भनेर सर्वसाधारणलाई सचेतसम्म गराउँदैन ।
सहकारी विभागको तथ्यांकअनुसा देशभर ३५ हजार २ सय ४० ओटा सहकारीहरु छन् । जहाँ ९२ लाख जनताले १२ खर्ब रकम ती सहकारीमा जम्मा गरेका छन् । तर यो १२ खर्ब रुपैँया आज बालुवामा पानी हाल्या बराबर भएको छ । कतिपय सहकारीले यी रकम डुबाइसकेका छन् वा लिएर भागेका छने भने सञ्चालनमा रहेकाहरुको पनि छाँटकाँट गतिलो देखिएको छैन ।
पैसा बचत गरौंला, नाफा कमाउँला र आफ्ना सन्तानको भविष्य सुखद बताउँला भन्नेहरुलाई अहिले ‘न दिनमा भोक, न रातमा निन्द्रा’को अवस्थामा पुगेका छन् । सहकारीमा पैसा राखेर डुब्नेमा बाटोमा तरकारी बेच्नेदेखि नेता वा सरकारी कर्मचारीसमेत छन् । अहिले सहकारीको कार्यालयमा जाँदा त्यहाँ अध्यक्ष र सञ्चालक भेटिँदैनन्, पैसा निकाल्नेको लर्को मात्रै भेटिन्छ । साथै सहकारीको कार्यालयमा गएर बस्दा त्यहाँ आउने मानिसहरु भन्छन्, ‘महिनौँ दिन भइसक्यो, पैसा निकाल्न आएको तर अहिलेसम्म एक सुको फिर्ता पाएका छैनौँ ।’
सहकारीले पैसा फिर्ता नगर्दा आफूले चाडपर्वसमेत राम्रोसँग मनाउन नपाएको एक पीडित सुनाउँछन् । ‘सहकारीले पैसा फिर्ता नगर्दा न हामीले दशैँतिहार नै मनाउन सक्यौँ न आफ्नो गाउँघर नै जान पायौँ’, उनी भन्छन् । सहकारीहरुले मिटरब्याजमा पैसा लगानी गरे, जसले गर्दा आज आफैँ फसे । उदाहरणका लागि डेढ करोड मूल्य पर्ने घरजग्गा, गाडी वा सेयर धितो राखेर १ करोड कर्जा दिने, त्यसमा पनि १० लाख घुस, ५ लाख सेवाशूल्क लिने अनि ४८ प्रतिशत ब्याज लिने ।
यसरी मिटरब्याजमा लगानी गरेको कर्जाको धितोको आज मूल्य घट्यो वा डेढ करोड मूल्य पर्ने घरजग्गा, गाडी वा सेयर लाखमा आयो तर १ करोडको कर्जा सवाँब्याज नतिर्दा डेढ करोड पुग्यो । त्यसैले पनि सहकारीहरु चुलुम्मै डुब्यो । साथै यिनीहरुले नाफा खान सबै कर्जाको लगानी घरजग्गा, गाडी र सेयरमा गरेका थिए ।
एक करोड पर्ने घरजग्गा अहिले लाखमा बिक्री हुँदैन भने प्रतिकित्ता ४ हजारमा किनेको सेयर सय रुपैँयामा झरेको अवस्था छ । यी सहकारीले बिनाधितो जमानीमा कति पसलेहरुलाई ऋण दिएका थिए तर तिनीहरु पनि व्यापारमा डुबेर वा ऋण तिर्न नसकेर भागिसकेका छन् । अहिले सहकारीमा पैसा राख्ने वा बचत गर्नेहरुले हाम्रो पैसा डुब्यो भनेर थाहा पाइसकेका छन् । त्यसैले पनि सहकारीले ३६ प्रतिशत र बैंकले २० प्रतिशत डिपोजिटको ब्याज दिन्छु भन्दा पनि जनता आफ्नो पैसा राख्न तयार छैनन् ।
विज्ञहरु भन्छन्, ‘अबको एकवर्षमा सबै सहकारीहरु भाग्छन् वा डुब्छन् । साथै सहकारीले नाफा कमाउन लगानी गर्ने ठाउँ पनि छैन र ठाउँ भएपनि पैसा छैन । त्यस्तै सहकारीबाट ऋण लिनेहरुले पनि मिटरब्याजकै कारण हामी ऋण तिर्न सक्दैनौं भनेर हात उठाइसकेका छन् । कतिले धितो नै छोड्दिएका छन् । पछिल्लो समय सहकारीहरु घाटामा गएकाले यिनीहरुले न कर्मचारीलाई नै तलब दिन सकेका छन् न घरभाडा नै तिर्न सकेका छन् ।’ कति सहकारीहरुले नाफा वा बढी ब्याज, घुस, सेवाशुल्क खानका लागि सबै कर्जाको लगानी घरजग्गा, गाडी र सेयरमा गरेका कारण आज यस्तो अवस्था आएको विज्ञ बताउँछन् ।
अहिलेपनि कति सहकारीहरुले आफ्नै भवन देखाउँदै सर्वसाधारणको रकम फिर्ता गरेका छैनन् वा बढी ब्याजको प्रलोभन देखाइरहेका छन् । त्यस्तै अहिले सहकारीका कति कर्मचारीहरुले तलब नपाएर जागिर छोडिरहेका छन् भने कतिले अब सहकारी पनि डुब्यो र हामी पनि जेल जानुपर्छ भनेर त्रासले जागिर छोडिरहेका छन् । घरघरमा धानको भकारी, टोलटोलमा सहकारी भन्ने नारा अहिले जनता ठग्न वा लुट्न बनाइएको जस्तो भएको छ ।
अहिले जसको पनि मुखमा एउटै कुरा सुनिन्छ, ‘सहकारीले मेरो पैसा फिर्ता गरेन, सहकारीले मलाई डुबाइदियो ।’ तर सहकारी संस्थाहरुको अनुगमन न सहकारी विभागले नै गर्छ न वडा वा नगरपालिकाले नै । सहकारीहरु नाफामा रहेसम्म चल्छ त घाटामा गएपछि भाग्छ वा डुब्छ । सहकारीकै कारण कतिको उठिबास भयो भने कति मर्नु कि बाँच्नु अवस्थामा पुगे ।
पछिल्लो समय जनताले भन्न थालेका छन, ‘सहकारी भनेको ठग वा चोर हो, यिनीहरु जनता ठग्न नै खोलिएका हुन् ।’ साथै सहकारी विभागले सहकारीलाई जनतालाई सेवा दिन लाइसेन्स नदिइ जनता ठग्न दिएको हो भनेर भन्छन् । सहकारीकै कारण अहिले प्रत्येकको घरमा रुवाबासी चलिरहेको छ भने सहकारीमा पैसा राख्नेहरु सबै डुबेका छन् । सहकारीमा आफ्नो पैसा करोड छ र चेक लाखको लिएर गएमा महिनामा ५ हजार लैजानुस् भनिन्छ ।
यी यस्तै दूरावस्थाबाट पाठ सिकेको सर्वसाधारणले अहिले सहकारीमा पैसा राख्न छोडिसकेका छन् । पहिला एक बजारप्रतिनिधिले दिनहुँ बजारबाट लाखदेखि ३ लाखसम्म उठाउने गर्थे भने अहिले ५ हजारसमेत उठाउन सक्दैँनन् । अब सहकारीलाई जनताले कुनै हालतमा विश्वास नगर्ने अवस्था सृजना भएको छ । साथै अब सहकारीहरुले नाफा कमाउँदैनन्, बरु झन् झन् घाटामा गएर डुब्छन् भन्ने सर्वावाधारण सर्वत्र भेटिन्छन् ।
पछिल्लो समय सहकारीहरु डुबेकाले वा जनताको पैसा फिर्ता गर्न नसकेकाले यिनीहरु एकआपससँग मर्जर गरिरहेको नाटक गरिरहेका छन् । तर मर्जर गर्न पनि सहकारी विभागबाट स्वीकृति लिनुपर्छ । तर यिनीहरुले विभागबाट स्वीकृति नै नलिइ आफूखुशी मर्ज गरिरहेका छन् । सर्वसाधारणहरुले आफ्नो बच्चालाई एक छाक मिठो खान नदिएर सहकारीमा जम्मा गरेको पैसा आज सहकारीले डुबायो । कति सहकारीका सञ्चालकहरु त जनताको पैसा लिएर रातारात भागेका छन् । अब जनताले यिनीहरुलाई कहाँ खोज्ने ?
सहकारीकै कारण कतिको घरव्यवहार बिग्रिएको छ वा सम्बन्ध विच्छेदसम्म भएको छ । त्यसैले अब सबैले ब्याजको लोभमा सहकारीमा आफ्नो जीवनभरको कमाइ नराखौँ, किन कि आजको ब्याजले भोलि हाम्रो साँवा नै डुब्ध सक्छ ।




















प्रतिक्रिया