Logo

राजनीति

निर्वाचनका लागि काठमाडौं–८ मा चार महिला उम्मेदवार प्रतिस्पर्धामा



काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ८ मा चार महिलासहित ४० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आसन्न निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ८ मा प्रतिनिधिसभा एक सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दुई महिलाको उम्मेदवारी परेको छ । सो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट एक र स्वतन्त्रबाट एक महिलाको उम्मेदवारी रहेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले बताए ।

उनका अनुसार सो निर्वाचन क्षेत्रको प्रदेशसभा १ (१)मा दुई महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । नेमकिपाबाट एक र जनता समाजवादी पार्टी नेपालका तर्फबाट एक महिलाको उम्मेदवारी परेको छ । उक्त निर्वाचन क्षेत्रमा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र गरी ४० जनाको उम्मेदवारी परेको हो ।

सो निर्वाचन क्षेत्रको प्रदेशसभा १ (१)मा नौजनाको उम्मेदवारी रहेको छ भने प्रदेशसभा २ (२) मा १२ उम्मेदवारी परेको अधिकारीले जानकारी दिए ।

प्रदेश १ मा ३० हजार ४९ र प्रदेश २ मा २३ हजार ५७ गरी उक्त क्षेत्रमा जम्मा ५३ हजार एक सय ६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । २३ मतदानस्थल तोकिएको उक्त क्षेत्रमा ६१ मतदान केन्द्र निर्धारण गरिएको छ । सो क्षेत्रमा काठमाडौं महानगरपालिकाका ६ वडा र नागार्जुन नगरपालिकाका दुई वडा समेटिएका छन् । काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिका–४ र ५ यो क्षेत्रमा समेटिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १४:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।