Logo

अर्थ

आयल निगम १८ करोड नाफामा, ऋणका कारण उपभोक्ता मूल्य भने नघट्ने



काठमाडौं । १८ करोड नाफामा रहेको नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य नघट्ने जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले १५ दिनमा १८ करोड रुपैयाँ नाफा रहेपनि ऋणका कारण उपभोक्ता मूल्य नघट्ने बताएको हो ।

‘१ अक्टोबरमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई १८ करोड रुपैयाँ नाफा हुने देखिन्छ,’ निगमले विज्ञप्तिमा भनेको छ, ‘तर भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने बक्यौता र सरकारी ऋणका कारण तत्काल उपभोक्ता मूल्य घटाउन नसक्ने बाध्यत्मक अवस्थामा निगम पुगेको छ ।’सरकार र भारतीय आयल निगमलाई

तिर्नुपर्ने ऋण २९ अर्ब १३ करोड रुपैयाँ रहेको भन्दै निगमले तत्काल मूल्य घटाएर समायोजन गर्न सक्ने अवस्था नरहेको दाबी गरेको छ । ३० असोजमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्यका कारण निगम नाफामा रहेको भन्दै निगमले १६ कात्तिकमा प्राप्त नयाँ मूल्य केही बढेर प्राप्त भएको जनाएको छ ।

बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टितेलमा ४ रुपैयाँ एक पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ७७ पैसा प्रतिलिटरमा बढेर आएको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य भने घटेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्ययद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १७:४८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।