काठमाडौं । बलात्कार आराेपित क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस बिहीबार नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् ।
कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारम्मस ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
बुधबारको बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए । हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बिहीबार पनि अन्य सबै पेशी स्थगित गराएर सन्दीपको मुद्दामा मात्रै बहस भएको थियो । तर बहस नसकिएपछि मुद्दा पुनः हेर्दाहेर्दैमा राखिएको हो ।
प्रतिवादीका तर्फबाट बहस सकिएपछि आवश्यक भएमा पुनः सरकारी वकिलका तर्फबाट प्रतिवादीका वकिलले उठाएका विषयको जवाफ दिनेछन् । त्यसपछि न्यायाधीशले थुनछेक आदेश गर्नेछन् ।
गत भदौ ५ गते राति सिनामंगलको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरी परेको समयमा सन्दीप देशबाहिर रहेका थिए । जाहेरी परेपछि खेल नखेली फरार भएका उनीविरुद्ध नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मार्फत डिफ्युजन नोटिस जारी गरेपछि असोज २० गते काठमाडौं आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।




















प्रतिक्रिया