काठमाडाैं । मंसिर ४ गत हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिकरुपमा आजदेखि घरदैलो अभियान सुरु भएको छ । निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला मत माग्नका लागि जनताको घरदैलोमा पुगेका छन् । राजधानी काठमाडौंसँग जोडिए पनि ललितपुरको क्षेत्र नम्बर १ सुगम छैन ।
यहाँका जनताहरुले अहिले पनि विकास निर्माण र पूर्वाधारका मागहरु उम्मेदवारसँ उठाउने गरेका छन् । देशमा भएका ६ वटा निर्वाचनमध्य ४ पटक एमाले, एक पटक माओवादी र एक पटक नेपाली कांग्रेसले ललितपुर क्षेत्र नम्बर १ बाट जित निकालेको छ ।
२०७० सालको संविधानसभा निर्वाचन जितेका नेपाली कांग्रेसका युवा नेता उदय शमसेर जवरा दोस्रो पटक चुनाव जित्ने लक्ष्यका साथ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका छन् । उनी अहिले प्रचार प्रसारका लागि केन्द्रीत भइसकेका छन् । घरदैलो अभियानकै क्रममा नेता उदयले क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)बाट प्रचार प्रसार सुरु गरेका हुन् ।
लोकतान्त्रिक वाम गठबन्धनका क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्री समेत रहेका राणा र प्रदेश सभा (ख) का उम्मेदवार राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं युवा नेता मीनकृष्ण महर्जनले गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीबाट घरदैलो अभियान सुरु गरे । यहाँ स्थानीय ६३ वर्षीय बृद्ध आमा धनमाया थापा मगरको हातबाट टीका ग्रहण गरेर अभियान सुरु गरेका हुन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार उदय शमशेर राणाले यस क्षेत्रमा पूर्वाधार विकासको सँगसँगै जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकताहरु पूरा गर्न आफू कटिबद्ध रहने बताए । उनले आफू जितेर गएपछि ललितपुरको क्षेत्र नम्बर १ लाई भ्रष्टाचार मुक्त क्षेत्र वनाउनेसमेत प्रतिवद्घता जनाए । नेता राणाले विगतमा जितेकाहरूले यस क्षेत्रमा विकासको मुल थुनेको र आफू पराजित हुँदा पनि जनतासँग सुख दुःखमा संगै रहेको बताउँदै आफू जितेपछि २०७० सालदेखि २०७४ सालमा आफूले गरेका प्रतिवद्धताहरु पनि पूरा गर्ने प्रष्ट पारे ।




















प्रतिक्रिया