Logo

खेलकुद

सन्दीप विरुद्धको मुद्दामा थुनछेक बहस आज पनि



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज (शुक्रबार) पनि थुनछेक बहस हुँदै छ । बुधबारबाट सुरु भएको थुनछेक बहस बिहीबार पनि नसकिएका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवहक्तारू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए ।

सबैजसो अधिवक्ताहरूले सन्दीप निर्दोष रहेको, बलात्कार भएको पुष्टि गर्ने कुनै प्रमाण नभएको जिकिर गर्दै तत्काल रिहा हुनुपर्ने माग राखेका थिए । उनीहरूले बलात्कार गरेको कुनै ठोस प्रमाण अभियोजनमा नभएको दाबी गर्दै आफ्नो पक्ष निर्दोष रहेको जिकिर गरे ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार सन्दीपले अदालतमा बयान दिएका थिए भने बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । जसमा १६ देखि १८ वर्ष उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सोहीअनुसार सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदावी गरिएको छ ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई होटलमा राखेर बलात्कार गरेको दाबी गरेकी छिन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार ११:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।