आमनिर्वाचनमा उम्मेदवारी दिने विषयमै संस्थापन पक्ष, दिनेश कोइराला र जगन्नाथ पौडेल गरी ३ धार देखिएको चितवन कांग्रेसमा पूर्वसभापति विकास कोइरालाले ब्युँताए अर्को धार
चितवन । आगामी मंसिर ४ का लागि तोकिएको आमनिर्वाचनको औपचारिक प्रचारप्रसार सुरुवात भइसक्दा चितवन कांग्रेसभित्रको मतभेद भने सतहमा आउन थालेको छ । पार्टीका पूर्वजिल्ला सभापतिको हैसियतमा विकास कोइरालाले बुधबार दिउँसो आयोजना गरेको चियापान कार्यक्रममा उद्योग वाणिज्य संघको सभाहल नै खचाखच हुने गरेर समर्थक जुटे । जुन कार्यक्रमप्रति पार्टीको जिल्ला नेतृत्वले आपत्ति जनाएको छ ।
पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइराला २०७० को संविधानसभा निर्वाचनमा चितवन–४ बाट उम्मेदवार हुँदा बागी उठेका कारण उनी कारबाहीमा परेका थिए । २०६७ मा पार्टीको जिल्ला सभापति चुनिएका उनलाई २ वर्षपछि पार्टी केन्द्रले हटाएको थियो ।
२०७६ चैतमा पार्टीको जिल्ला कमिटीले उनको क्रियाशील सदस्यता नवीकरण गर्न केन्द्रलाई सिफारिस गरेको थियो । तर, सदस्यता नवीकरण नभएको आक्रोश उनले बुधबारको चियापान कार्यक्रममा पोखे । ‘नभए यो चुनावमा हिँडिँदैन । त्यत्तिकै हिँडिँदै हिँडिँदैन । समयमै कुरा नराखे, मिलेर घुर्की नलगाए मतलब हुँदो रहेनछ,’ समर्थकमाझ उनको आग्रह थियो, ‘विकास कोइरालालाई नल्याउने हो भने हामी पनि चुप लागेर बस्छौं भनेर नेतृत्वलाई भन्नुस् ।’
३ निर्वाचन क्षेत्र रहेको चितवनमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र–१ र २ मा कांग्रेस र ३ मा माओवादीका उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । प्रदेशसभाका ६ क्षेत्रमध्ये ३ वटामा कांग्रेस, २ वटामा माओवादी र एउटामा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार चुनावी मैदानमा छन् । तर, गठबन्धनबाहिर पनि कांग्रेसका विभिन्न धार सक्रिय छन् । चितवन–३ मा गठबन्धनविरुद्ध कांग्रेस केन्द्रीय सदस्य रहेका दिनेश कोइराला, अर्का पुराना नेता जगन्नाथ पौडेल उम्मेदवार छन् । दिनेशको पक्षमा पार्टीका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटालगायतका नेता उभिएका छन् । उम्मेदवारी दिने विषयमै ३ धार देखिएको चितवन कांग्रेसमा चियापान आयोजना गरेर विकासले अर्को धार ब्युँताएका छन् ।
उक्त चियापानले पार्टी संगठन र आसन्न निर्वाचनलाई समेत नकारात्मक प्रभाव पार्ने भन्दै मंगलबार साँझ पार्टी जिल्ला सभापति राजेश्वर खनालले सूचना नै निकालेर आपत्ति जनाएका थिए । सभापति खनालले चियापानजस्ता कार्यक्रम नगर्न निर्देशन मात्र दिएनन्, उक्त सूचनामा पार्टीका पूर्वजिल्ला सभापति भनेर ८ जनाको मात्रै नाम उल्लेख गरे । जसमा विकास र कृष्णलालको नाम अटाएको छैन । यसका बाबजुद पनि चियापानमा युवा वर्ग र केही पुराना नेताहरूको उपस्थिति थियो । पार्टीका हालका जिल्ला सचिव ध्रुवराज पोखरेल पनि कार्यक्रममा पुगेका थिए ।
सभापति खनालको निर्देशनात्मक सूचनाप्रति कांग्रेस कार्यकर्ता र पदाधिकारीले नै असन्तुष्टि पोखिरहेका छन् । सचिव पोखरेलले मंगलबार विज्ञप्ति निकालेर नेतृत्वले सुझबुझपूर्ण ढंगले सबै पक्षको सम्मान गर्न नसकेको आरोप नै लगाए । उपसभापति शालिग्राम शर्मा पौडेलले फेसबुकमा ‘१५ गतेको विज्ञप्तिउपर समीक्षा गरौं, सुधार गरौं’ लेखेका छन् ।
विकास २०६७ मा भएको पार्टीको १२ औं अधिवेशनबाट जिल्ला सभापति चुनिएका थिए । उनको कार्यकालमै नेपाल तरुण दलका तत्कालीन जिल्ला सभापति शिव पौडेलमाथि भरतपुर कारागारभित्रै आक्रमण भयो र उनको मृत्यु पनि भयो । पौडेलको संरक्षण गर्न नसकेको भन्दै विकासको आलोचना हुन थाल्यो । विवाद बढ्दै गएपछि पार्टी केन्द्रले उनलाई सभापतिबाट हटायो । त्यसबेला उनी सभापति भएको २ वर्ष पनि भएको थिएन । पार्टी केन्द्रले जिल्लामा नयाँ नेतृत्व चुन्न निर्वाचन गराउँदा उनी पनि उठेका थिए तर पराजित भए । २०७० को संविधानसभा निर्वाचनमा चितवन–४ मा उनले टिकट पाउने चर्चा थियो । तर, पार्टी केन्द्रीय सभापति उम्मेदवार भए । उक्त निर्णयको विरोधमा उनी बागी उठे । त्यसपछि कारबाहीमा परेका हुन् ।
‘२०७६ चैतमा जिल्ला कमिटीले विकास कोइरालाको क्रियाशील सदस्यता नवीकरण गर्न केन्द्रीय समितिमा सिफारिस गरेको तथ्यलाई नजरअन्दाज गर्नु संस्थागत निर्णयको निरन्तरताको अवमूल्यन ठहर्छ,’ सचिव पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ । दोहोरो मापदण्ड नअपनाउन पोखरेलले नेतृत्वलाई सजग गराएका छन् ।
त्यसैगरी, पार्टीका अर्का पूर्वजिल्ला सभापति सापकोटा २०४६ अघिदेखि नै नेतृत्वमा रहेका व्यक्ति हुन् । प्रजातन्त्र आएपछि पनि कांग्रेसको जिल्ला सभापति भए । तर, गत स्थानीय निर्वाचनमा भरतपुर महानगरको प्रमुख पदमा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका जगन्नाथ पौडेलको प्रस्तावक बसेपछि सापकोटालाई पार्टीले कारबाही गरेको छ ।
पार्टीका पूर्व या वर्तमान पदाधिकारीले आफ्नो पदीय हैसियतमा कार्यक्रम आयोजना गर्दा पार्टीसँग समन्वय गर्नुपर्ने बताउँछन्, जिल्ला उपसभापति पौडेल । कोइरालाले त्यस्तो कुनै पनि समन्वय नगरेको हुँदा पार्टीको ध्यानाकर्षण भएको उनको भनाइ छ । ‘तर पूर्वपदाधिकारीहरूको नाम सूचनामा नरहेको विषय प्राविधिक त्रुटि हुन सक्छ, यो सच्याउनुपर्छ र सचिन्छ,’ उनले भने ।
२०७४ को स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गरेर पार्टी केन्द्रले भरतपुर महानगर प्रमुखबाट कांग्रेस उम्मेदवारको नाम फिर्ता लिएपछि नै चितवन कांग्रेसभित्र मतान्तर सुरु भएको हो । गत स्थानीय निर्वाचनमा पनि कांग्रेस–माओवादी तालमेल भएसँगै उक्त विवाद फेरि सतहमा आयो । अहिले संसदीय निर्वाचनमा पनि विवाद थामिने अवस्था देखिएको छैन । कान्तिपुर दैनिकबाट





















प्रतिक्रिया