जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज (आइतबार) महोत्तरीको जलेश्वरबाट सार्वजनिक गरिएको लोसपाको घोषणापत्रमा नागरिकता समस्याको हल र मधेस आन्दोलनमा संलग्नमाथि चलाइएको मुद्दा फिर्तालाई जोड दिइएको छ ।
कार्यक्रममा अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका अजेन्डा अझै पूरा नभएकाले त्यससँग जोडिएकै मुद्दालाई घोषणापत्रमा समेटिएको बताए । ‘मधेस आन्दोलनको भावनाअनुसार संविधानले पूर्णता पाएको छैन,’ उनले भने, ‘संविधान अपूर्ण छ । नागरिकतासम्बन्धी कानुन नै बनेको छैन । १० लाख जनता नागरिकताविहीन छन् । हाम्रो घोषणापत्रमा मधेसकै समस्या, एजेन्डा र मुद्दालाई प्राथमिकतामा राखिएको छ ।’
आन्दोलनमा सहभागी भएकाहरु अझै जेलमै रहेका भन्दै परिवर्तनको आन्दोलनमा राज्यबाट हिंस्रक हस्तक्षेप भएको बताए । ठाकुरले सत्तामा गएर जनताको सेवा गर्ने सबै दलको ध्येय रहे पनि घोषणापत्रमा उल्लेख गरिएका मुद्दा सत्तामा पुगे नीति तथा कार्यक्रममार्फत सम्बोधनको प्रयास गरिने बताए ।
लोसपाको घोषणापत्रमा संविधानको पूर्णता, पहिचानसहितको संघीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति र हरेक विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्त्वका साथ समेटिएको छ ।




















प्रतिक्रिया