पोखरा । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । आगामी ४ मेसिरमा हुने निर्वाचनका लागि नेकपा एमालेको पक्षमा मत मागेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् । आचार्यले गोरखा–२ का उम्मेदवारसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध भोट मागेको आरोप छ ।
गोरखामा आफूविरुद्ध मत मागेको भन्दै प्रचण्डले आचार्यविरुद्ध बाबुराम भट्टराईसमक्ष पनि गुनासो गरेका र यो सूचना प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पनि पुगेपछि उनले गण्डकीका मुख्यमन्त्री पोखरेललाई भनेर हटाउन लगाएको बनाइएको छ । मन्त्रिपरिषद्मा हेरफेर गरिएको पत्र मुख्यमन्त्री कार्यालयबाट प्रदेशप्रमुख पृथ्वीमान गुरुङसमक्ष पुगिसकेको बताइएको छ । आचार्यले भने आफूलाई किन हटाइएको भन्ने बारे केही थाहा नभएको बताए । उनले आफूले एमालेको प्रचार नगरेको दाबी गरे ।
आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । अहिले नेपाल समाजवादी पार्टीमा रहेका उनी ४ मंसिरको प्रदेशसभा निर्वाचनमा गोरखा २ प्रदेशसभा १ बाट उम्मेदवारको आकांक्षी थिए । तर नेसपाबाट फणिन्द्र देवकोटा प्रदेशसभा सदस्य उम्मेदवार भएपछि आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पछि फिर्ता लिएका थिए ।




















प्रतिक्रिया