Logo

प्रमुख समाचार

केपी ओलीलाई ४५ हजार मतान्तरले हराउँछु : राजन चुँडाल



झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेसनलिस्ट पिपुल्स पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका युवा उम्मेदवार राजन चुँडालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५ हजार मतान्तरले हराउने दाबी गरेका छन् । पत्रकारहरुसँगको कुराकानीमा उनले आफूलाई सबै क्षत्रका मतदाताले मत दिने भएकाले ओलीलाई ठूलो मतान्तरले हराउने दाबी गरे ।

‘९० प्रतिशत व्यवसाय र १० प्रतिशत राजनीति गर्ने उद्देश्यले स्थापित नेसनलिस्ट पिपुल्स पार्टीको मुख्य भिजन नै देशमा उद्योगधन्दाको विकास गरि युवाहरूलाई क्षमता अनुसारको रोजगारीका अवसर सिर्जना गर्नु हो । यस पार्टीमा सदस्यता लिनेहरुलाई निःशुल्क जीवन बिमा गरिदिने लक्ष साथ चुनावी प्रचारप्रसार अभियानलाई समेत तीव्रता दिइएको छ । मंसिर ४ को निर्वाचनमा ४५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुन्छु, लेखेर राख्नुहोस्’, उनले भने ।

चुँडालले अब नाती पुस्तालाई मुलुक सुम्पेर हजुरबुवाहरुले आराम गर्नु पर्ने उल्लेख गरे । ‘लाटोकोसेरो’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका चुडालले झापा क्षेत्र नं ५ मा आफूलाई सबैतिरबाट भोट आउने बताए । ‘मलाई सबैतिरबाट भोट आउँछ’, उनले भने, ‘कांग्रेस , एमाले , राप्रपा , माओवादी , आदिवासी ,मधेसी , उद्योगी , व्यवसायी ,बुद्धिजीवि , संचारकर्मी , कलाकारलगायत सबैले मलाई सहयोग गर्छन् ।’

पद र शक्तिको दुरुपयोग नगर्ने, विधिको साशनभन्दा बाहिर गएर कुनै पनि निकाय र कर्मचारीलाई दबाब नदिने, महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्ने, कुनै पनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन नगर्ने, सरकारलाई पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सँधै खबरदारी गर्ने, लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहने, राष्ट्रिय स्वाधीनता, देशको अखण्डता र राष्ट्रिय सुरक्षाको विषयमा अविचलित भई उभिने, नैतिकतामा प्रश्न उठे राजीनामा दिने र छानबिनका लागि सहयोग गर्ने, भूमिहीन किसान, पिछडिएको वर्ग र समुदायको हितलाई प्राथमिकतामा राख्ने, सन्तुलित विकासको पक्षमा उभिने, निःशुल्क स्वास्थ्य र शिक्षा दिनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न प्रयत्न गर्ने, आयात प्रतिस्थापन गर्ने विधिका पक्षमा बोल्ने, व्यापार घाटा घटाउन सहयोग गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने प्रयत्न गर्नेलगायतका प्रतिवद्धता उनले जनाएका छन् ।

‘

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १५:२८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।