इटहरी । नेपाली कांग्रेसका तीन डाक्टर नेताहरुले अर्का डाक्टर शेखर कोइरालाका लागि एउटै मञ्चबाट भोट अपिल गरेका छन् । पार्टीमा टिकट नपाएर पनि डा. मिनेन्द्र रिजाल, अर्थविद् डा. स्वर्णीम वाग्ले र डा. गोविन्दराज पोखरेलले देशव्यापी अभियानका क्रममा आज (मंगलबार) मोरङ पुगेर डा. कोइरालाका लागि भोट मागेका हुन् ।
कांग्रेस सुन्दरहरैचा–७ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तीनै जना डाक्टरहरूले अर्का डाक्टर कोइरालालाई विजयी गराउन आग्रह गरे । सम्बोधनका क्रममा डा रिजालले मोरङको समग्र विकासका लागि कोइराला जस्तो उपयुक्त पात्र अरु नभएको बताए । उनले भने, ‘यस क्षेत्रको समग्र विकासको लागि डाक्टर शेखर कोइरालालाई मत माग्न आएको हुँ। तपाईंहरूले शेखर कोइराला जस्तो मान्छे पाउनुहुन्न । मतदानको सानो त्रुटिका कारण धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । ५ वर्ष अगाडि भन्दा अहिले शेखर कोइराला बलियो कद भएको नेताको रूपमा चिनिनुहुन्छ। उहाँको जितले यस क्षेत्रको उचाइ बढाउँछ।’ शेखर कोइरालालाई सांसद बन्ने अवसर प्रदान गरे उनलाई देशको आवश्यकताले प्रधानमन्त्री बन्ने अवसर दिने पनि उनले बताए ।
यस्तै, डा वाग्लेले बीपी कोइरालाको समाजवादको सपना पूरा गर्ने साहस र क्षमता डाक्टर शेखर कोइरालामा देखेको बताउँदै समुन्नत नेपाल बन्ने–नबन्ने मंसिर ४ ले निर्धारण गर्ने उल्लेख गरे। ‘हालसम्म नेपाल खराब कुशासनमा गाँजिएको मुलुक भएको हुनाले फड्को मार्न नसकिएको हो। शेखर कोइरालालाई विजयी गराएर एक इमान्दार र केही गरौं भन्ने हुटहुटी भएको नेतालाई संसदमा पुर्याउनु होला। यो मेरो विनम्र अनुरोध हो’, उनले भने, ‘ डा. कोइरालाको पराजयले यस क्षेत्रको मात्र नभएर सिंगो देशलाई क्षति पुग्छ।’
यसैगरी कार्यक्रममा डा. पोखरेलले भारत स्थिर अर्थतन्त्रको आकार बोकेर दरिलो अवस्थामा रहेको बताउँदै मंसिर ४ मा राम्रो नेतृत्व छान्न सक्दा नेपालले पनि फड्को मार्ने बताए। ‘हामीले नाति–नातिनाको भविष्य हेरेर भोट हाल्नुपर्छ। अल्पकालीन आश्वासन दिएर वा राष्ट्रवादी कुरा गरेर भन्दा अब हुने नाति पुस्ताको भविष्य हेरेर भोट हाल्नुहोला। डाक्टर शेखर कोइराला जस्तो नेता उम्मेदवारको रूपमा पाउनु नै तपाईंहरूको भाग्यको कुरा हो। उहाँ विजयी हुनुभयो भने मन्त्री मात्र हैन, प्रधानमन्त्री बन्ने क्षमता राख्नुहुन्छ,’ उनले भने।




















प्रतिक्रिया