सिड्नी । आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार दिउँसो पाकिस्तान र न्युजिल्यान्ड भिड्दैछन् । गत वर्ष मध्य पूर्वमा भएको विश्वकपको पछिल्लो संस्करणको पनि सेमिफाइनलमा पुगेको पाकिस्तान त्यही संस्करणमा च्याम्पियन बनेको अस्ट्रेलियासँग पराजित भएको थियो ।
अर्कातिर न्युजिल्यान्डले फाइनल यात्रा तय गरेर छिमेकीसँग पराजित हुँदा उपविजेतामा सीमित हुनु परेको थियो । आज सिड्नी क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलले जारी विश्वकपको पहिलो फाइनलिस्टको टुङ्गो लगाउने छ । प्रमुख बलर शाहीन शाह अफ्रिदी लयमा फर्किएसँगै पाकिस्तानको तीव्र गतिको बलिङ अझै तगडा भएको छ ।
यस्तै, पछिल्ला केही खेलमा पाकिस्तानको मध्यक्रम पनि केही सुधारिएको संकेत देखाइरहेको छ । तर, कप्तान बाबर आजम र मोहम्मद रिजवानको ढिलो सुरुआतबाट २००९ को च्याम्पियन पाकिस्तान ग्रस्त छ। ओपनर तथा कप्तान बाबर खराब लयबाट गुज्रिरहेका छन्, र सेमिफाइनलमा पाकिस्तानलाई उनको उल्लेख्य प्रदर्शनको खाँचो पर्नेछ ।
न्युजिल्यान्डको ब्याटिङतर्फ ग्लेन फिलिप्स अहिलेका स्टार हुन् । सुपर १२ का चार खेलमा एक सय ९५ रन बनाएका फिलिप्सको प्रदर्शन आज पनि टिमका लागि महत्त्वपूर्ण हुनेछ । बलिङतर्फ चार खेलमा आठ विकेट लिएका स्पीनर मिट्चेल सान्टनर टिमका महत्त्वपूर्ण सदस्य छन् । टिममा भएका केही पावर-हिटरका कारण न्युजिल्यान्डको टिम धेरै अर्थमा सन्तुलित देखिन्छ ।
हेड टू हेड पाकिस्तानको पक्षमा छ। तर, टी-ट्वेन्टी आईमा इतिहासले खासै अर्थ राख्दैन । त्यो दिन जसले राम्रो खेल्छ, उही विजयी बन्ने हो। तर, खेलाडी वा टिमको मनोबलमा भने विगतको नतिजाले अर्थ राख्छ । आजको विजयी टिमले भोलि (बिहीबार) हुने भारत र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनल विजेतासँग आइतबार उपाधिका लागि खेल्ने छ ।
टी-ट्वेन्टी आईमा हेड टू हेड
खेल : २८
पाकिस्तान विजयी : १७
न्युजिल्यान्ड विजयी : ११
टी-ट्वेन्टी विश्वकपमा हेड टू हेड
खेल : ६
पाकिस्तान विजयी : ४
न्युजिल्यान्ड विजयी २




















प्रतिक्रिया