भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा लौरो अभियानले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गने भएको छ । लौरो अभियानबाट भक्तपुर–२ मा प्रतिनिधिसभा उम्मेदवार बनेका लोकेन्द्र पोखरेलले आज (बुधबार) आगामी मंसीर ४ को निर्वाचनमा एमाले उम्मेदवार बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
उनले भक्तपुरमा मात्र नभई देशभर एमालेका उम्मेदवारलाई मंसिर–४ को निर्वाचनमा मतदान गर्न लौरो अभियानका अभियन्ताहरुलाई आव्हान समेत गरे । “लौरोले हिर्काउने होइन, राष्ट्र र राष्ट्रियताको सवालमा अडिग रहनेलाई लौरोले त साहारा दिनु पर्छ, त्यस्तो व्यक्तित्व महेश बस्नेत हो । उनको विकल्प छैन भन्ने निष्कर्षमा पुगेर एमाले र लौरो अभियन्ताबीच एकता भएको हो’, उनले भने ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका भक्तपुर २ का प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेतलाई लौरो उपहार दिदैँ पोखरेलले आजकै दिनबाट आफ्नो उम्मेदवारी फिर्ता लिई आफूसहित लौरो अभियानका स्वतन्त्र अभियन्ताहरुले भक्तपुर–२ मा एमालेका उम्मेदवार बस्नेतलाई अत्याधिक मतले विजयी बनाउने अभियानमा एकजुट भएर लाग्ने बताए ।
कार्यक्रममा लौरो ग्रहण गर्दै बस्नेतले आजबाट लौरोका अभियन्ता मात्र नभई तमाम स्वतन्त्र अभियन्ताहरुसँगको सहयात्रा सुरु भएको बताए । उनले भने, “टाढाबाट हेरेर र सुनेर होइन, महेश बस्नेतलाई चिन्न र यहाँको विकास हेर्न यहीँ आउनुपर्छ, भन्ने यथार्थ बुझेर आज लौरोले समर्थन गरेको छ, राष्ट्रियताको पक्ष, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्यको व्यबस्था गर्ने लगायतका राष्ट्रहितका एजेण्डा बोकेका सबै एक भएर राष्ट्रहित विपरितको गठबन्धनलाई परास्त गर्नु आजको आवश्यकता हो ।”
राष्ट्रियताको पक्ष, एमसीसी, एसपीपी, नागरिकता विधेयकको विक्षमा, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थाको सवालमा एमालेसँगै लक्ष्य र अभियान मिलेका सबै समूह एक हुनुपर्नेमा उनले जोड दिए । उनले विपक्षीले कुनै विषय नपाए पछि तर्कहिन कुरालाई आधार बनाएर आरोप लगाएको सन्दर्भ कोट्याउँदै भने, “हत्या, अपहरण, चन्दा असुली, लुटपात, कुटपिट, धम्की जस्ता अराजकताको विरुद्ध मैले युथ फोर्स गठन गर्दा विपक्षीले गुण्डा भने, सुरेन्द्र यादवसहितको नेताहरु एमाले प्रवेश गर्ने कार्यमा सहजीकरण गरिदिँदा अपहरणको आरोप लगाए । गाईको दूध दुहुने क्रममा अलिअलि गोबर लाग्छ, कहिलेकाँही लात्ति हान्छ, यस्ता आरोप आफै मिथ्या सावित भएर गइरहेका छन् ।”वि
कासको सन्दर्भ कोट्याउँदै उनले अब भक्तपुरमा भौतिक पूर्वाधारको अधिकांश काम सकिएको बताए । ‘केही काम निरन्तर भइरहेको छ, केही काम अहिलेको गठबन्धन सरकारले बजेट काटिदिदाँ रोकिएको छ, मेरो जीत पछि अबको पाँच वर्षमा त्यस्ता बाँकी कामहरु पुरा गर्नुछ, हनुमन्ते करिडोर, मनोहरा करिडोर, विश्व विद्यालय, अत्याधुनिक स्वास्थ्य सेवा दिन सक्ने मेडिकल कलेज, प्राणी उद्यान, पाँच हजार क्षमतको सभा हल, खेल मैदान, रंगशाला, दुवाकोटमा बीर अस्पताल, मुटुको सबै सेवासमेत दिने गरि भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर धुलिखेल सडक, विद्युतलाई अण्डरग्राउण्ड, तीन स्मार्ट सिटी, साँगा र कोटेश्वरमा सुरुङ्ग मार्ग निर्माण जस्ता थुप्रै आयोजनाहरु सम्पन्न गर्न, बौद्धिक ज्ञान केन्द्र, युवा लक्षित कार्यक्रम, महिला सीप, इलाइब्रेरी जस्ता योजनाहरु ल्याउने काम म गर्नेछु, अबको पाँच वर्षमा यहाँका सबै सडक कालोपत्र हुने छन्’, आश्वासन दिँदै बस्नेतले भने, ‘सबै क्षेत्र पुल र सडक सञ्जालले जोडिने छन्, विद्यालयका भौतिक एवं शैक्षिक गुणस्तर बृद्धि गरिने छ, सूर्यविनायक नगर अस्पताललाई यहाँका बासिन्दाका लागि निःशुल्न उपचार गर्ने गरि बिकास गर्ने काम पुरा गर्नेछु ।”




















प्रतिक्रिया