Logo

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ फाइनलमा



काठमाडौं । शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले मधेस प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । 

मधेस प्रदेशले एपिएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो । जवाफमा एपिएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । एपिएफका लागि लोकेश बमले सर्वाधिक ३५ रनको योगदान दिए भने प्रदीप ऐरीले ३३ तथा आशिफा शेखले २५ रनको योगदान दिए । त्यसैगरी सुमित मर्हजनले १३ रन जोड्दा सन्दिप जोरा छ रनमा अविजित रहे । 

बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंहले तीन विकेट झारे भने राजेश यादवले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । मधेश प्रदेशका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३६ रनको योगदान दिए । सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदील आलमले ११  तथा राजेश यादवले १० रन बनाए ।
    
एपिएफका कमल ऐरी एक्लैले चार विकेट लिए भने भुवन कार्की र मौसम ढकालले समान २/२ विकेट झारे । भोलि हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने शनिबार हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १५:४१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।