Logo

राजनीति

रवीन्द्र मिश्र भन्छन्– मन र मत बद्लिएन भने जनताको अवस्था उस्तै रहन्छ, नेता समृद्ध बन्छन्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्रले यस पटक मन र मत बदल्न जरुरी रहेको बताएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमाले समर्थितहरूलाई ती पार्टीका नेतृत्व सुधार गर्न मन र मत बदल्न आग्रह गरेका हुन् ।

शुक्रबार राप्रपाले काठमाडौंको बसन्तपुरमा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै मिश्रले भने, ‘कांग्रेस र एमालेका साथीहरूलाई मेरो आग्रह के हो भने यो पटक तपाईंहरूको तत् तत् पार्टी सुधार गर्नको लागि पनि, तपाईंहरूको पार्टीको विकृत नेतृत्वलाई विस्थापित गर्नका लागि पनि तपाईंहरूले एकचोटी मन र मत परिवर्तन गरिदिनुस् ।

मिश्रले मन र मत परिवर्तन नभएको खण्डमा जनताको अवस्था जहाँका त्यहीँ र नेतामात्र समृद्ध बन्ने बताए । ‘तपाईंहरूले मन र मत परिवर्तन गर्नुभएन भने हेरिराख्नुहोला, मेरो त हातै गएन अर्को पार्टीको चुनाव चिन्हमा भनेर भन्नुभयो भने हेरिराख्नुस् आज जसरी नेताहरू समृद्ध भएका छन्। र जुन शानका साथ हिँड्छन् र जसरी तपाईंले गल्लीको जीवन विताउनुपरेको छ। खाल्डाखुल्टीको बाटोमा हिँड्नुपरेको छ भने तपाईंको जीन्दगी जस्ताको त्यस्तै रहन्छ र तपाईंले भोट हालेको नेताको जीन्दगी समृद्ध बन्छ’, उनले भने ।

उनले भविष्य सुधार गर्न र देश सुधार गर्न नेतृत्वलाई एक झड्का हान्नुपर्ने बेला आएको पनि बताए । ‘यो देशमा तपाईंको परिवारको भविष्य सुधार गर्नका लागि र यो देशको राजनीति सुधार गर्नका लागि तपाईंहरूले एक झड्का, तपाईंहरूको नेतृत्वलाई एक चड्कन हान्नुपरेको छ अहिले,’ मिश्रले भने, ‘तपाईंहरूले एक चड्कन हान्नु भएन भने हेर्नुस् आज मैले भोट माग्न मात्र भनिरहेको छैन। एउटा वास्तविकता के हो भने यो देशमा अबको केही वर्षमा जम्मा तीन वटा मात्रै पार्टी हुन्छ।’

मिश्रले राप्रपा, कांग्रेस र एमाले पार्टी मात्रै मुख्य रूपमा रहने र अन्य पार्टीहरू साँघुरिने वा बिलाएर जाने दाबीसमेत गरे । उनले यो देशको धर्म र संस्कृतिलगायत जोगाउन राप्रपा चाहिएको बताए । मिश्रले अब संसदमा राप्रपाको सशक्त उपस्थिति हुने पनि दाबी पनि गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १६:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।