गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको नजिक हुँदा संविधान च्यान खोज्यो नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नरहेको बताएका छन् । उनले एमालेका उम्मेदवारहरूलाई ‘संविधान च्यात्न र संसद् विघटन गर्नका लागि भोट मागिरहेको हो ?’ भनेर प्रश्न पनि गरेका छन् ।
गोरखाको सहिद लखन गाउँपालिकामा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले मतदातालाई पनि उक्त प्रश्न एमाले उम्मेदवाराई गर्न आह्वान गरेका छन् । ‘एमालेको नेतृत्वमा गठबन्धन छ । त्यो गठबन्धनले यो संविधान उल्ट्याउन चाहेको छ । दुई तिहाइको नजिक हुँदा संविधान च्यान खोज्यो हामीले त्यसको विरोध गर्नुपर्ने स्थिति आयो । विशाल पार्टी बनेको थियो त्यसलाई टुक्राटुक्रा पार्नेले चुनावमा भोट माग्दै आउने नैतिक अधिकार कहाँबाट आयो ? यो प्रश्न सबैले सोध्नुपर्ने भएको छ’, उनले भने, ‘संविधान च्यात्नलाई मत दिने फेरि संसद् विघटन गर्ने ? जनताले दुःख गरेर अर्बौं–खर्बौं खर्चेर चुनाव गरेर बनाएको संसद् प्रतिनिधिसभालाई विघटन गर्नलाई भोट दिनुपर्ने ?’
गोरख–२ बाट माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका दाहालले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संविधानको रक्षा गर्ने र च्यात्नेबीचको जनमतसंग्रह भएको बताए । कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दलको गठबन्धन संविधानको रक्षा गर्न बनेको उल्लेख गर्दै प्रचण्डले भने, ‘यो चुनाव अग्रगमन र पश्चगमनका बीचमा, संविधानका रक्षक र भक्षकका बीचमा, गणतन्त्र, संघीयता, समावेशिताका पक्षधर र विपक्षीका बीचको जनमतसंग्रह जस्तो भएको छ ।’
अध्यक्ष प्रचण्डले गठबन्धनलाई लामो समयसम्म अगाडि बढाउने दाबी गरेका छन् । उनले संविधान रक्षासँगै कार्यान्वयन र परिमार्जन तथा आर्थिक समृद्धिका लागि गठबन्धन निर्माण गर्नुपरेको बताए ।




















प्रतिक्रिया