काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रमा क्यामरा तथा मोबाइल जस्ता वस्तु लान निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन जारी गरेको छ ।
जसअनुसार मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई क्यामरा, मोबाइलसहित सलाई, लाइटर तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन सार्वजनिक आह्वान गरेको छ ।
आयोगले यो निर्देशनविपरीत मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी समेत दिएको छ । सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लि आईएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने जनाएको छ ।
यसैगरी निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत यस्ता कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई आयोगले निर्देशन पनि दिएको छ ।




















प्रतिक्रिया