राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदलगायतले दिनदिनै ओहोरदोहोर गर्ने दर्जनभन्दा बढी सडक वर्षौंदेखि अलपत्र
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–६, तिवारी टोलका उमेश अधिकारी आइतबार बिहान निकै आक्रोशित देखिन्थे । घरअगाडि चुलिएको ग्राभेलको थुप्रो देखेर उनको कन्पारो तातेको रहेछ । हुन पनि उनी प्रत्येक दिन ओहोरदोहोर गर्ने सडकको अवस्था दयनीय छ ।
साँघुरो सडक, त्यसमाथि बीच सडकमै ग्राभेलका थुप्रा । सवारी ओहोरदोहोर गर्न उत्तिकै कठिन । यही सडकमा कहिले सवारीसाधन ठोक्किन्छन् त कहिले हिलो र धुलोले सर्वसाधारणलाई हिँडिनसक्नु बनाउँछ । ‘ग्राभेलको थुप्रो कति हेर्नु ? ७ वर्षदेखि यस्तै थुप्रा हेरेर बसिरहेका छौं,’ उनले झर्किंदै भने, ‘चुनाव आउन लागेर होला हामीलाई झुक्याउन ग्राभेल झारिएको छ । ग्राभेल झार्दैमा सडक बन्छ भनेर अब पनि कसरी विश्वास गर्नु ?’ चाबहिल–जोरपाटी–साँखु सडकअन्तर्गतको यस खण्डमा ग्राभेलको थुप्रोले दैनिक ट्राफिक जाम हुन्छ । ‘कहिलेकाहीं त सर्वसाधारणले सधैं धुलो खाऊन् भनेर सडक अलपत्र पारे जस्तो पनि लाग्छ,’ उनले भने, ‘अब जस्तो अवस्थामा छ, त्यही अवस्थामा कालोपत्र गरिदिए हुन्थ्यो ।’
तिवारी टोलबाट केही मास्तिर लागेपछि आउँछ हरियालीनगर । त्यहाँको सडकको अवस्था पनि यस्तै छ । ग्राभेल थुपारेकाले सडक साँघुरिएको छ । थलीको उकालो लाग्दै गर्दा फेरि सडकको कन्तबिजोग सुरु हुन्छ । पानी नहाले धुलो उडेर सडक किनारमा हिँडिसाध्य हुन्न । बर्खामा जलमग्न बन्छ । हिलाम्मे सडक छिचोल्न पैदल यात्रु र दुईपांग्रे सवारी चालकलाई ठूलै सकस पर्छ । थली बजारमा पनि कतै ग्राभेल छ, कतै ग्राभेल थुपारेर राखिएको छ । धुलोका कारण यस क्षेत्रको व्यापार व्यवसाय सोचेजस्तो गर्न नसकिएको व्यवसायी बताउँछन् । सडक किनारमा पसल व्यवसाय गरेर बस्नेहरू धुलोले बिरामी नपरेको दिन हुँदैन । ‘जाबो चार दिन राम्रोसँग काम गरे सकिन्छ, सधैं ठेकेदारले अटेर गरेरै समय सके,’ थली बजारकी संगीता पोखरेलले भनिन्, ‘ठेक्का भएकै ८ वर्ष हुन लाग्यो । सडकको हालत जहिले उस्तै ।’ ०७४ निर्वाचनताका पनि सडकको अवस्था यस्तै थियो । ‘चुनाव आएपछि चाँडै सडक बनाइहाल्छौं, भोट दिनू भन्छन्,’ पोखरेलले भनिन्, ‘जितेर गएपछि यो क्षेत्रका सांसदको मुख देख्नै मुस्किल पर्छ ।’ चुनावका बेला सडक बनाउँछौं भन्दै वाचा मात्र गर्ने र जितेपछि बिर्सिने नेतालाई भोट नदिने उनले बताइन् ।
नेताहरूले सडकलाई मागी खाने भाँडो मात्र बनाएको अर्का स्थानीय सूर्यबहादुर केसीको आरोप छ । ‘यस क्षेत्रका नेताले सडक बनाउने आश्वासन धेरै दिए,’ उनले भने, ‘तर जितेर गएपछि कोही आएनन् ।’ ०७४ सालको चुनावमा पनि दलहरूले यही सडक निर्माणलाई एजेन्डा बनाएका थिए । अहिले पनि प्रमुख एजेन्डामा यही सडक छुटेको छैन । ‘ढल र फुटपाथ बनाइएको छ,’ उनले भने, ‘अब सडक बनाउन केले रोकेको हो, थाहा छैन ?’ बढी समस्या सानोथलीबाट सोल्टी मोड खण्डसम्म रहेको उनको भनाइ छ ।
चाबहिल–जोरपाटी–साँखु सडकअन्तर्गत दक्षिणढोकाबाट उकालो लागेपछि सास्ती सुरु हुन्छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले यो सडकलाई चार खण्डमा विभाजन गरी ठेक्का लगाएको छ । कतै खाल्डैखाल्डा छन् त कतै कालोपत्रको नामोनिसान भेटिँदैन । यस खण्डको ठेक्का बज्रगुरु–बिरुवा–खानी जेभीले लिए पनि काम बिरुवा कन्स्ट्रक्सनले गर्दै आएको छ । ०७२ असोज १३ मा भएको सम्झौताअनुसार ०७५ वैशाख १४ भित्र निर्माण सक्नुपर्ने थियो । तर, चार पटक म्याद थप्दा पनि प्रगति ७५ प्रतिशत मात्र छ । ४५ करोड ६९ लाखमा ठेक्का लागेकामा ३१ करोड ४६ लाख ४५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । तर, योजनाको लागत बढाएर ५० करोड ७१ लाख ४४ हजार रुपैयाँ पुर्याइएको छ । तीन किलोमिटर लामो यो खण्डमध्ये बढी समस्या थलीको ७ सय मिटर क्षेत्रमा छ । सम्झौताअनुसार काम गर्न नपाउँदा ढिलाइ भएको बिरुवा कन्स्ट्रक्सनले दाबी गर्दै आएको छ । यो खण्डमा अब २ किमि सडक कालोपत्र गर्न बाँकी छ ।
तेस्रो खण्ड नारायणटारस्थित वाग्मती पुलदेखि थली उकालोसम्म पर्छ । बज्रगुरु–च्याङ्मिला–खानी जेभीले ठेक्का लिएको २.४ किमि लामो यो खण्डको भौतिक प्रगति ७५ प्रतिशत मात्र छ । सम्झौताअनुसार ०७५ पुस १४ मै विस्तार सकिनुपर्ने हो । तर चार पटक म्याद थपिइसकेको छ । ३१ करोड ८१ लाख ४७ हजारमा ठेक्का लागेकामा अहिले लागत ३६ करोड ४८ हजार रुपैयाँ पुगिसकेको छ । निर्माण कम्पनीले २६ करोड ६७ लाख ७१ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । ब्रह्मखेलदेखि सम्बुटारसम्म २.४६ किमि सडक विस्तारको ठेक्का बीटी–सुनकोसी–वर्ल्डवाइड जेभीले लिए पनि काम पूरा भइसकेको छैन ।
थली बजारको भन्दा चर्को समस्या छ– नख्खुखोला–भैंसेपाटी सडक खण्डमा । नख्खुखोलाबाट भैंसेपाटीतर्फ उकालो लाग्दै गर्दा कष्टपूर्ण यात्रा छिचोल्नुपर्छ । कुहिरीमण्डल धुलोले यहींको त्यहीं देखिँदैन । सडक खनेर अलपत्र पारिएको छ । ठाउँ–ठाउँमा थुपारिएको ग्राभेलले दुर्घटनाको भय बढाएको छ । सडकछेउका पसललाई धुलोबाट जोगाउन हम्मेहम्मे परेको छ । घरमा लगाएको रङ धुलोले छुट्याउन सकिँदैन । सात वर्षदेखि धुलोकै कारण पसल चलाउन समस्या भएको स्थानीय चन्द्रकुमार राई बताउँछन् । ‘एउटा ठेकेदार आउँछ यसो काम गरेजस्तो गर्छ, फेरि फेरिएर अर्को आउँछ,’ उनले भने, ‘दसैंअघि सडक कालोपत्र गर्ने भनिएकामा अहिलेसम्म केही काम भएको छैन ।’ धुलोका कारण यहाँका घरमा भाडामा बस्न आउन कोही नरुचाउने गरेको उनले बताए ।
यस सडकको दुई खण्डमा बाँडेर ठेक्का लगाइएको छ । पहिलो खण्ड नख्खुखोला–भैंसेपाटी–सोह्रखुट्टेको दूरी ३.५२ किलोमिटर छ । ०७३ असार ३० मा भएको ठेक्काअनुसार ०७५ कात्तिक ३० भित्र काम सकिसक्नुपर्ने हो । तर अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत मात्र छ । ठेक्का लगाउने निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार ३.५२ किमिमध्ये दुई किमि सडक मात्र कालोपत्र भएको छ । सुरु ठेक्का रकम २८ करोड ६२ लाख ५० हजार रुपैयाँ भए पनि अहिले लागत बढाएर ३० करोड ५ लाख रुपैयाँ पुर्याइएको छ । १९ करोड ९६ लाख ९६ हजार रुपैयाँ भुक्तानी नै भइसकेको छ । यस खण्डको ठेक्का आशिष–बिरुवा–सीएम जेभीले लिएको हो । संयुक्त ठेक्का भए पनि सुरुवाती जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको थियो । उसले काम नगरेपछि सीएम कन्स्ट्रक्सनले यसको काम गर्दै छ । अहिले सडकको चौथो पटक म्याद पुस मसान्तसम्म थप गरिएको छ ।
अर्को खण्ड हो– सोह्रखुट्टे–चुनिखेल सडक । फिरोज र बबी भण्डारीले यस खण्डको बुङमतीमा किराना पसल गर्न थालेको १० वर्ष भयो । सडक बन्न थालेपछि जस्तो समस्या कहिल्यै खेप्नुपरेको थिएन । ‘सडकमा उड्ने धूलोका कारण रुघाखोकी कहिल्यै टुट्दैन । घाँटी दुखिरहन्छ । लुगा धोएर सुकाउने ठाउँ छैन,’ बबीले भनिन्, ‘धुलो उडिरहेका बेला सुकाएका लुगा लगाउँदा जीउभरि एलर्जी हुन्छ ।’ भोट माग्न आउने नेताले चुनावअघि नै सडक बन्छ भन्थे । तर यही क्षेत्रबाट जिताएर पठाएको मान्छे मन्त्री हुँदासमेत सडक नबन्दा दुःख लागेको फिरोजको गुनासो छ । ‘जति उम्मेदवार भोट माग्न आएका छन्, सबैलाई सडकका गुनासा सुनाइसक्यौं, ०७४ सालको चुनावदेखि नै यी गुनासा सुनाउँदै आएका छौं,’ उनले भने, ‘चुनावभर गुनासा सुन्छन्, एजेन्डा बनाउँछन्, जितेर गएपछि सबै कुरा बिर्सन्छन्, फर्किएर आउनसमेत हिचकिचाउँछन् ।’ भैंसेपाटी क्षेत्रमा समाजका धेरै विशिष्ट व्यक्तिहरूको बसोबास बाक्लो छ । उनीहरू सधैं यही सडक ओहोरदोहोर गर्छन् । ‘तर उनीहरूले देखेर पनि नदेखेजस्तो गर्दा दुःख लाग्छ,’ फिरोजले भने ।
दोस्रो खण्ड सोह्रखुट्टे–बुङमती–चुनदेवी सडकको अवस्था पनि उस्तै छ । सडक खनेर अलपत्र पारिएको छ । ठेक्का लागेको पाँच वर्ष पुग्दा अहिलेसम्म सडकमा पर्ने घर भत्काइएको छैन । ठेक्का भएको सडकको दूरी १.५५ किमि छ । यसको ठेक्का पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले लिएको हो । ०७४ साउन ११ मा भएको सम्झौताअनुसार ०७६ साउन १० मा काम सम्पन्न गरिसक्नुपर्ने हो । प्रगति ७५ प्रतिशत मात्र छ । संयुक्त ठेक्का भए पनि वर्ल्डवाइड निर्माण कम्पनीले काम गरिरहेको यो सडकको चौथो पटक म्याद थपिएको छ ।
यसको सुरु ठेक्का रकम २३ करोड ७२ लाख ४९ हजार रुपैयाँ हो । अहिले लागत बढाएर २६ करोड ९ लाख ४३ हजार रुपैयाँ पुर्याइएको छ । निर्माणमा प्रगति नभए पनि २० करोड ८ लाख ९९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । बढी समस्या भएको नख्खु–भैंसेपाटीको काम दसैंअघि नै सक्ने सीएम कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शान्तकुमार श्रेष्ठको दाबी थियो । तर सडकको अवस्था उस्तै छ । यसबारे बुझ्न पटकपटक फोन सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।
डिभिजनअन्तर्गतका केही सडक निर्माण सकिएको र केही निर्माणको अन्तिम चरणमा रहेको सडक डिभिजन काठमाडौंका सूचना अधिकारी सुनीत केसीले बताए । केही पुराना सडक अझै अलपत्र रहेको उनको भनाइ छ । बढी समस्या काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गतका सडकमा छ । दसैं–तिहारपछि थोरै मात्र काम भएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीको भनाइ छ । धेरै ठेकेदराले दसैंअघि नै काम सक्ने दाबी गरेका थिए, काम जस्ताको तस्तै छ ।
चुनाव नजिकिएकाले त्यसको प्रभाव यस क्षेत्रमा पनि परेको उनको बुझाइ छ । ‘सबै ठेक्कालाई काम हेरेर पुसदेखि चैत मसान्तसम्मको मात्र म्याद दिइएको छ,’ उनले भने, ‘अब समय दिन्नौं । काम नसके ठेक्का तोड्छौं ।’ चाबहिल–साँखु खण्डको थली खण्डमा बेस बिग्रिएर समस्या भएको उनले बताए । ‘यो सडकमा निर्वाचनलगत्तै ठेकेदारले काम सक्छु भनेका छन्,’ उनले भने, ‘नख्खु–भैंसेपाटी सडकमा दुई ठेक्का छन्, पहिलो खण्डमा बेस र सबबेस राख्ने काम भइरहेको छ । दोस्रो खण्ड बुङमतीमा चारवटा घर भत्काउन बाँकी छ, त्यसैले काम हुन सकेको छैन ।’ भक्तपुरको कमलविनायक–नगरकोट सडकको स्तरोन्नति सुरु भएको पनि आठ वर्ष बितिसक्यो । पटकपटक चुनावी नारा बनेको यो सडक पनि अहिले बेवारिस छ । ०७१ जेठ २२ मा पहिलो सम्झौता भएकामा सात पटक म्याद थप भइसकेको छ । आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सनले यसको संयुक्त ठेक्का लिएका हुन् । सम्झौताअनुसार काम भएको भए ०७३ असार ३ मै ठेक्का सकिसक्नुपर्ने हो । दुई वर्षमा सक्ने भनिएको सडकको काम आठ वर्षमा ७९ प्रतिशत मात्र छ ।
निर्माण ढिलाइ भएसँगै ठेक्काको लागत बढिरहेको छ । सडकको सुरु ठेक्का सम्झौता ३१ करोड ५२ लाख रुपैयाँ हो । अहिले संशोधन गरेर ३५ करोड ८७ लाख रुपैयाँ पुर्याइएको छ । यसबीच ठेकेदार कम्पनीले २९ करोड ७७ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । १५.६६ किमि दूरीको सडकमा पाँच किमि बेससहित कालोपत्र गर्न बाँकी छ ।
ठेकेदारले सडक अलपत्र पारेपछि भक्तपुर–नगरकोटका सर्वसाधारणले धेरै पटक मन्त्रालय धाए, धेरै पटक सडकमै उत्रिएर आन्दोलन गरे, स्थानीय जनप्रतिनिधिदेखि आफ्नो क्षेत्रका सांसद भेटे । तैपनि ठेकेदारले नसुनेपछि जनप्रतिनिधिलाई ज्ञापनपत्र बुझाए, ध्यानाकर्षण गराए, विरोधस्वरूप सडकमै वडा कार्यालय चलाए । ठेकेदारको फोटोसहितको व्यानर बनाएर सार्वजनिक यातायातदेखि चोकचौतारासम्म टाँसे । तर ठेकेदार टसको मस भएनन्, बरु काम गर्छॅ भन्दै ढाँटिरहेका छन्, तर पनि उनलाई कारबाही भएको छैन । यही कन्स्ट्रक्सनले ठेक्का लिएको बालाजु–रानीपौवा सडक अलपत्र छ ।
काम नगरेपछि कन्स्ट्रक्सनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ । कमलविनायक–नगरकोट सडकको ठेक्का तोड्ने तयारीमा रहेको भक्तपुर–नगरकोट–सिपाघाट–बालाजु–त्रिशूली–बिदुर सडक योजना कार्यालयका प्रमुख गौतम श्रेष्ठले बताए । ‘धेरै पटक मौका दियौं तर कामै भएन,’ उनले भने, ‘अब ठेक्का तोड्ने हो, अरू उपाय छैन ।’ कान्तिपुर दैनिकमा समाचार छ ।





















प्रतिक्रिया