काठमाडौं । राष्ट्रपति कार्यालयले नागरिकता विधेयक प्रमाणीकरण गर्नुनको कारण सर्वोच्च अदालतमा पेश गरेको छ । विधेयक प्रमाणीकरण गरेकोबारे परेको रिटमा सर्वोच्चले ‘कारण देखाऊ’ आदेश जारी गरेपछि राष्ट्रपति कार्यालयले मंगलबार सर्वोच्च अदालतमा जवाफ पेस गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीका अनुसार मंगलबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेस गरेको हो ।
सर्वोच्चमा असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई विधेयक प्रमाणीकरणका लागि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका थिए । असोज ९ गते ती रिटहरूमाथि सुनुवाइ गर्दै हरिप्रसाद फुयाँलको एकल इजलासले राष्ट्रपति कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको थियो ।
नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न पहिलो पटक साउन १५ मा राष्ट्रपतिसमक्ष पठाइएको थियो। त्यसको १५ औं दिन साउन २९ मा राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सन्देशसहित संसद्मा फिर्ता गरेकी थिइन् । त्यसपछि उक्त विधेयकलाई संसद्ले पुनः हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिसमक्ष पठाएको थियो ।
दोस्रो पटक संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पठाइएकाे विधेयक पुन: फिर्ता पठाउने संवैधानिक छुट राष्ट्रपतिलाई छैन । त्यसलाई १५ दिनभित्रमा प्रमाणीकरण गर्नेपर्ने प्रावधान भए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको उक्त कदमविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो ।




















प्रतिक्रिया