भक्तपुर । नेकपा एमालेको पोलिटब्यूराे सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भक्तपुरबाट एमालेलाई कम्तिमा पनि ६० हजार मत ल्याई ऐतिहासिक जित निकाल्ने दाबी गरेका छन् । निर्वाचन परिचालन कमिटी भक्तपुर क्षेत्र नं. १ ले बुधवार आयोजना गरेको क्षेत्रीय चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै जनताले मंसिर ४ गते सूर्यमा भोट दिने र ६ गते रुखमा भोट दिने बताए ।
प्रधानमन्त्रीलाई निर्वाचनको मितिसमेत जानकारी नहुने सुस्त दिमागको भएको उल्लेख गर्दै मुलुक निर्माणको लागि एमालेका अध्यक्ष केपी ओली जस्तो दुरदृष्टि भएको नेतालाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिए ।प्रधानमन्त्री देउवाले केही समय अघि एक कार्यक्रममा मंसिर ४ मा हुने निर्वाचनलाई मंसिर ६ गते हुने भनि अभिव्यक्ति दिएका थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि रहेका लुम्बिनीमा आयाेजित एक कार्यक्रममा देउवाले स्टेजमा नै र्याल चुहाएका थिए । सोही प्रशंगलाई कोट्याउँदै बस्नेतले प्रधामन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा र्याल चुहाउने, निदाउने, सिंगान झार्नेलगायतका कार्यहरु गरी देशको नै बेइजत गरेको टिप्पणी गरे ।
‘युवा साथीहरुले भन्न थाल्नुभएको छ, ठिकै हो । ४ गते सूर्यमा भोट दिने हो । मुलुकको विकास र समृद्धिको नायक, दुरदृष्टि भएको केपी ओलीलाई प्रधानमन्त्री बनाउने हो’, उनले भने, ‘६ गते कांग्रेसको रुपमा भोट हाल्ने हो, निर्वाचन सकेपछि मतपेटिका गनेर खोली भएको मतपेटिकामा हाल्ने हो । र्याल र सिगाँन चुहाउने नेतालाई विदाइ गर्ने हो ।’
नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती कार्य गर्ने गठबन्धन सरकार देश र जनताको पक्षमा नरहेको उल्लेख गर्दै उनले हिजो एमालेलाई प्रतिगमन भन्नेहरु राष्ट्रघाती रहेको तथ्य एक पछि अर्को गर्दै जनताले बुझ्दै गएको बताए ।




















प्रतिक्रिया