Logo

राजनीति

सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै कांग्रेस-माओवादीको आपत्ति



काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले दुई पार्टीबीच फाटो गराउने आशयले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद भट्टराई र माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शनिबार एक विज्ञप्ति जारी गरी विभिन्न अनलाइन सञ्चार माध्यमको समाचारको दुरुपयोग गरेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो ।’

यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न आग्रह गरिएकाे छ ।

‘साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कार्वाहीका लागि समेत सरकारसँग माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

भ्रामक सूचना

प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार  ३ : ५२ बजे