Logo

राजनीति

‘लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ’



काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएको भन्दै आममतदातालाई धन्यवाद दिएका छन् । आमनिर्वाचनमा जनताले आफ्नो अधिकारको प्रयोग गरिरहँदा दशकौं देखिको लोकतन्त्र प्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको उनले उल्लेख गरेका छन् ।

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रुपमा मतदान भएको छ’, प्रधानमन्त्री देउवाले भनेका छन्, ‘संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् । यो आम निर्वाचनमा तपाईहरुले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको छ ।’

प्रधानमन्त्री देउवाले मतदानमा देखिएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित

आस्था अभिव्यक्त भएको बताएका छन् । उनले निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।साथै देउवाले निर्वाचन सफल गराउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र पर्यवेक्षकहरुमा पनि आभार प्रकट गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १९:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।